Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

काेराेना फैलिन नदिन कुवेत सरकारले गर्याे १४ दिन सार्वजनिक बिदाको घोषणा

अन्तर्राष्ट्रिय उडानहरु बन्द

User Photo बिहिबार, फाल्गुन २९, २०७६
काठमाण्डाै ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई फैलिन नदिनको लागि कुवेत सरकारले बिहीबार (मार्च १२) देखि दुई सातासम्म लागू हुने गरी सार्वजनिक बिदाको घोषणा गरेको छ । यो सरकारी र निजी क्षेत्रमा कार्यरत कर्मचारी र कामदारका लागि लागू हुनेछ ।

नेपालीसहित आप्रवासी कामदारको उच्च जनघनत्व रहेको कुवेतले कोभिड-१९ को संक्रमण फैलिन सक्ने भन्दै सुरक्षाका सबै उपायहरु अपनाएको हो। १७ हजार ८ सय १८ वर्गकिलोमिटरको क्षेत्रफल रहेको कुवेतमा झन्डै ४२ लाख मानिस बस्छन्। कुल जनसंख्याको ७० प्रतिशत आप्रवासी कामदार रहेका छन्। नेपाली कामदार भने झन्डै ८५ हजार कार्यरत छन्।

अन्तर्राष्ट्रिय उडानहरु बन्द

कुवेतले शुक्रबार मध्यरातदेखि लागू हुने गरी सम्पूर्ण अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिने भएको छ। कार्गोको उडान भने जारी रहनेछ। अन्तर्राष्ट्रिय उडान बन्दले कुवेतसँग हुने नेपाली कामदारको दुईतर्फी आवतजावत पनि बन्द भएको छ। अब वैदेशिक रोजगार विभागबाट कुवेत जानका लागि श्रम स्वीकृति पाइसकेका कामदार अर्को सूचना नआएसम्म कुवेत जान पाउने छैनन्।

कुवेतको मन्त्रिपरिषद्ले रेस्टुरेन्ट र क्याफेमा भेला हुन र ठूला व्यापारिक केन्द्र (मल)को वरिपरि भेला हुनको लागि रोक लगाएको छ। ठूला खाद्यान्य पाउने मल र साना पसल (वकला) हरु भने बन्द गरिएको छैन। बैंकहरु बन्द गरिएको छ। हरेक गभर्नर क्षेत्रमा भने एउटा मात्रै बैंक खोल्न पाइने छ। एटीएमहरु भने खुल्ला रहनेछ। सरकारले यसलाई कर्फ्यु रुपमा नबुझ्‍न सबैलाई अनुरोध गरेको छ।

कुवेतको यो निर्णय सार्वजनिक हुनासाथ बुधबार राति किनमेलका लागि व्यापारिक केन्द्रहरुमा निकै भीड लागेको थियो। ‘कुवेत सरकारको खाद्यान्यको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ। तर १४ दिन पुरै बन्द हुने हल्ला भएपछि हामी आवश्यक खाद्यान्य खरिद किन्न नजिकको मलमा गएका थियौं। मलभित्र छिर्न सकिने अवस्था थिएन,’ कुवेतमा कार्यरत सुरज मास्केले इकान्तिपुरलाई बताए,‘खाडीको १२ वर्षे बसाइमा मलमा यस्तो भीड देखेको थिइनँ।’मलमा चामल, दाल, दूध, अन्डा, सागसब्जी र फलफूल किन्नेहरुको भीड लागेको थियो। सलमिया, जलिव, अल सोएक, रिगाई, खैतान, फाहहिल क्षेत्रमा मलमा भीड लागेको थियो।

कुवेत सरकारको यो निर्णयबाट आफूहरु सुरक्षित महसुस गरेको उनले मास्केले बताए। ‘कामहरु सबै बन्द भयो। यसले रोकथाममा सहयोग पुग्छ,’ उनले भने।

कुवेतले २७ फेब्रुअरीदेखि यता कुवेत प्रवेश गरेका नेपालीसहित आप्रवासी कामदारलाई स्वास्थ्य परीक्षणका लागि अनिवार्य रुपमा कुवेत फेयर ग्राउन्डसमा उपस्थिति हुनका लागि समयसीमासमेत तोकेको छ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतले क्‍वारेन्टाइनका लागि निश्चित स्थानहरु तोकेको छ। विमानस्थल पुगेका कामदारलाई तोकिएको क्‍वारेन्टाइनमा सिधै लैजानेछ। १४ दिनपछि मात्रै कामका लागि कम्पनीको जिम्मेवारीमा छाडिनेछ।

फेब्रुअरी २७ यता कुवेत प्रवेश गरी कुवेतको ६ क्षेत्रमा बस्ने कामदारलाई छुट्टाछुट्टै समयमा कुवेतको फेयर ग्राउन्डसको हल नम्बर ६ मा सर्म्पक गर्न सूचना जारी गरिएको छ। जसअनुसार अल जाहरा क्षेत्रमा बसोबास गर्ने नेपालीले मार्च १२, मुबारक अल कबिर क्षेत्रका नेपालीले मार्च १३, फर्वानिया क्षेत्रका नेपालीले मार्च १४, ह्वाली क्षेत्रका नेपालीले मार्च १५ , अहमदी क्षेत्रका नेपालीले मार्च १६ र क्यापिटल (अल असिमा) क्षेत्रका नेपालीले मार्च १७ मा कुवेतको फेयर ग्राउन्डस हलमा जानुपर्ने नेपाली दूतावासले जनाएको छ।

कुवेतले सबै खालका नयाँ भिसा जारी गर्न पनि रोक्ने निर्णय गरेको छ। अब हालसम्म जारी भएका भिसा प्राप्त नेपाली मात्रै कुवेत जान पाउनेछन्। हालसम्म जारी भएका भिसाको श्रमस्वीकृतिको प्रक्रियामा नै छ। कुवेतमा बिहीबार बिहानसम्म ७२ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये २ जना निको भएर फर्केका छन्। ५ जनालाई आईसीयूमा राखिएको र १ जनाको अवस्था गम्भीर रहेको कुवेती अधिकारीले जानकारी दिएका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.