सरकारले लकडाउनको अवधि लम्ब्याउने भएको छ । आइतबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले लकडाउनको अवधि थप गर्नुपर्ने निश्कर्ष निकालेको हो । तर कति दिन भन्ने टुंगो लगाएको छैन ।
बैठकमा सहभागी एक मन्त्रीले भने ‘लकडाउन लम्ब्याउनुपर्छ भन्ने छलफल भएको छ, कति दिन भन्ने मन्त्रिपरिषदले निर्णय गर्छ ।’
मन्त्रिपरिषद बैठक आज नै बस्नेछ । यसअघि सरकारले चैत १० गतेदेखि चैत १८ गते विहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।
त्यस्तै सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।
