पछिल्लो २४ घन्टामा थप ६३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोना संक्रमण बाट थप ९ जनाको मृत्यु भएको छ ।
मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको बताएका छन् ।
मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआर विधिबाट ५ लाख ९२ हजार ४१८ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १२ हजार ५१९ पीसीआर परीक्षण भएका छन् ।
२४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १३६ जना रहेको छ । योसँगै हालसम्म निको हुनेको संख्या १८ हजार ३५० पुगेको छ ।
त्यस्तै सुनसरी, पर्सा, बारा, सिराह, मकवानपुर र भक्तपुरका संक्रमितको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो ।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा सुनसरीका २ जना रहेका छन् । सुनसरीका ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । पर्साका ६१ वर्षीय, ५८ वर्षीय र ४८ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ ।
बाराका ५८ वर्षीय, सिरहाका ६८ वर्षीय, मकवानपुरका ५६ वर्षीय र भक्तपुरका ७३ वर्षीय व्यक्तिको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।
