रुपन्देहीको रोहिणी गाउँपालिका ३ चैनपुरवाका एकै घरका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उपचारको क्रममा मृत्यु भएका ५३ वर्षीय पुरुषको अन्त्येष्टिको क्रममा कोरोना पोजेटिभ देखिएको थियो। मृत्युपछि र अन्तिम दाहासंस्कारमा नजिकै र सम्पर्कमा रहेका ७३ जनाको पिसिआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको हो।
एकैघर परिवारका १० जना सदस्य र चालकसहित ५ जना घरका कामदारमा कोरोना पुष्टि भएको रोहिणी गाउँपालिकाका स्वास्थ्य प्रमुख रामनेवास चौधरीले जानकारी दिए। लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट सोमबार राति आएको थियो। मलामी गएका परिवारका सदस्यसहित २२ सदस्यहरुको ९ गते र ११ गते विभिन्न ४ ठाउँमा ५१ जनाको स्वाब संकलन गरेका थियो।
जसमध्ये अहिलेसम्म १५ जनामा संक्रमण रहेको पुष्टि भएको छ। केही रिपोर्ट आउन बाँकी छ। स्वास्थ्य प्रमुख चौधरीका अनुसार १३ वर्ष देखि ६९ वर्ष उमेर समूहका ८ पुरुष र ७ महिलामा संक्रमण देखिएको छ। चैनपुर गाउँ सिल रोहिणी गाउँपलिकाले चैनपुर गाउँ सिल गरेको छ। धकधई बजारदेखि उत्तर चैनपुरटोलमा कोरोना भाइरस समुदायमा फैलिएका कारण नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै ५ दिनको लागि पूर्ण रुपमा निषेधित गरिएको छ। गाउँमा एकै परिवारका १० जनामा संक्रमण देखिएपछि चैनपुरटोललाई भदौ १५ गते देखि भदौ २० गते राति १२ बजेसम्म निषेधित क्षेत्र कायम गरिएको रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए।
निषेधित अवधिभर कोही व्यक्ति आफ्नो घरबाट बाहिर ननिस्कन, अरूको घरमा प्रवेश नगर्न र सामाजिक दूरी कायम गरी सुरक्षित बस्न समेत गाउँपालिकाको जारी सूचनामा उल्लेख गरिएको छ। सूचनामा भदौ ६ गतेपछि चैनपुर टोलमा जाने आउने गरेका तथा सम्पर्कमा रहेका व्यक्तिहरुलाई होम क्वारेन्टिनमा बस्न र केही समस्या परे गाउँपालिकामा सम्पर्क गर्न आग्रह गरिएको छ। सूचना उल्लंघन गरेमा संक्रामक ऐन अनुसार कारबाही हुने समेत गाउँपालिकाले जनाएको छ।
गुल्मीको चन्द्रकोट गाउँपालिका पनि सिल चन्द्रकोट गाउँपालिकाका जनप्रतिनिधि र बैंकका कर्मचारीसहित ७ जनामा कोरोना संक्रमण देखिएपछि पुरै गाउँपालिका सिल गरिएको छ। स्थानीय कोरोना रोग नियन्त्रण रोकथाम समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि पूरै गाउँपालिका सिल गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए। भदौ ६ गते गाउँपालिकाबाट ४७ जनाको समुदायस्तरमा पिसिआर परिक्षण गरिएको थियो।
जसमध्ये परीक्षणमा जनप्रतिनिधि ,बैंकका कर्मचारीसहित समुदाय स्तरका ७ जनामा कोरोना पुष्टि भएको छ। तोकिएको समयावधिभित्र गाउँपालिकामा हुने सबै आवतजावत पूर्णरुपमा निषेध गरिएको छ। उक्त अवधिभर आकस्मिक स्वास्थ्य सेवा बाहेक सबै प्रकारका कार्यहरु बन्द रहने गाउँपालिकाले जनाएको छ। संक्रमितहरुको सम्पर्कमा आएकाहरुको मंगलबार नै स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ।
