यति बेला भारतबाट स्वदेश फर्किने नेपालीको तुलनामा उतै जानेको संख्या झन्डै तीन गुणा बढी देखिएको छ। कञ्चनपुरको डोके बजार प्रहरी चौकीको तथ्यांक छ– भदौ १३ गतेपछि एक सातामा भारतबाट ६ सय २८ जना नेपाल फर्किएका छन्। भारत पस्नेको संख्या भने त्यही अवधिमा १ हजार ५ सय ५२ छ।
‘अहिले नेपाल आउनेभन्दा भारत पस्नेको संख्या बढी छ’, डोके बजार चौकीका प्रहरी नायब निरीक्षक भूपाल थापाले भने, ‘नेपालमा रोजगारी नै पाइएन भन्छन्। कोरोनाको डर पनि लाग्दैन भन्छन्।’ कैलालीको त्रिनगर नाका भएर दैनिक २ सय ५० जना भारत जान थालेका छन्। भारतीय पक्षले उनीहरूको आधारकार्ड भए जान दिने गरेको छ। आधारकार्ड नभएकाहरू पनि आफ्ना ‘मालिक’ नाकामै आउन थालेपछि भारत पस्न सजिलो भएको छ।
