Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

‘प्रचण्ड’का राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन

User Photo मङ्लबार, माघ १३, २०७७
काठमाण्डाै ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल- नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन भएको छ।

मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्टेटलगायत रोगबाट पीडित उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो। एक साता अघिदेखि खम्बासिंहलाई अस्पतालमा राखेर उपचार गरिँदै आएको उनका पारिवारिक सदस्य नारायणसिंह कुँवरले जानकारी दिए।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार उनको बिहान ८ः४५ बजे निधन भएको हो। उनमा निमोनियाको समस्या पनि देखिएको अध्यक्ष अधिकारीले जनकारी दिए। उनको आजै पवित्र तीर्थस्थल देवघाटमा दाहसंस्कार गरिँदै छ। त्यसअघि नेकपा चितवनको पार्टी कार्यालयमा श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको जनाएको छ।

श्रद्धाञ्जलि कार्यक्रममा कुँवरका राजनीतिक शिष्य नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत आउने कार्यक्रम तय भएको जिल्ला अध्यक्ष यमबहादुर परियारले जानकारी दिए। पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलिपछि आजै देवघाटमा अन्त्येष्टि गरिँदै छ।

विसं १९८४ वैशाख १० गते लमजुङको तत्कालीन थानसिंह बाङ्ग्रे गाविस वडा नं ७ मा बुबा ललितजङ्ग र आमा पुतली कुँवरको कोखबाट जन्मेका कुँवरले २०११ सालमा लमजुङमा गुणबहादुर गुरुङबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए। विसं २०१५ मा चितवन झर्नु भएका कुँवरले सम्पूर्ण जीवन र आफ्नो जायजेथा पनि पार्टीलाई नै सुम्पिएका थिए।

उनलाई विसं २०६८ मा चितवनमा नागरिक समाज र तत्कालीन माओवादी पार्टीले नागरिक अभिनन्दनसहित रथारोहण गराएको थियो। यस्तै विसं २०६९ मा नेपाल सरकारले उनलाई सुप्रबल जनसेवाश्री विभूषणद्वारा सम्मानित गरेको थियो। जीविकोपार्जनका लागि भारत जाँदा २००७ सालमै भारतीय कम्युनिष्ट पार्टीका नेता अमृत डाँगीको सङ्गतमा परेपछि उनी नेपालमै फर्किएर वर्गीय आन्दोलनमा होमिएका थिए। विसं २०१४ मा नन्सेन्टर जिल्ला कमिटीको नेतृत्वमा रहेका उनी त्यसपछि मोहनविक्रम सिंह, शम्भुराम, मनमोहन अधिकारी निर्मल लामालगायतका नेतासँगै न्यूक्लियस सङ्गठन गरेर सङ्गठन विस्तारमा लागेको उनी जीवित हुँदै बताएका थिए।

विसं २०३१ मा मोहनविक्रम सिंह महामन्त्री रहेको चौथो महाधिवेशनमा पोलिटब्यूरो सदस्य रहेका उनले गण्डकी, नारायणी, लुम्बिनीलगायत क्षेत्रमा रहेको आफ्नो जिम्मेवारी पूरा गरेका थिए। विसं २०३४ मा गोरखाको आरुघाटमा प्रगतिशील शिक्षकका लागि नेकपा चौमको प्रशिक्षण कार्यक्रम भएको थियो। त्यसका प्रशिक्षक कुँवर थिए। प्रशिक्षार्थीमध्ये एक थिए पुष्पकमल दाहाल ‘प्रचण्ड’। त्यही प्रशिक्षणबाट प्रभावित भएर विसं २०३५ मा शिक्षक पेशा छोडेर दाहाल दीर्घकालीन कार्यकर्ता भएको बताइन्छ।

विसं २०४८ मा नेकपा माओवादी गठन भएपछि निरन्तर केन्द्रीय सल्लाहकार समिति सदस्य रहेका खम्बासिंह जनयुद्धकालमा भूमिगत थिए। हाल उनी पार्टीको केन्द्रीय सल्लाहकार रहेको जिल्ला अध्यक्ष परियारले जानकारी दिए। उनका एक छोरा र चार छोरी छन्। उनी परिवारका सदस्यसँग भरतपुर महानगरपालिका–१० मा बस्दै आएका थिए। रासस


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.