नेकपा प्रचण्ड- माधव समूहले जनता समाजवादी पार्टी (जसपा)सँग मिलेर जाने प्रस्ताव राखेको छ । तर सत्ता सहकार्यका लागि प्रचण्ड- माधव समूहसँग छलफलका लागि पार्टी कार्यालय पेरिसडाँडा पुगेका जनता समाजवादी पार्टी (जसपा) नेताहरूले प्रचण्ड-माधव समूहलाई तपाईंहरूको कुन पार्टीको हो भनेर प्रश्न गरेका छन्।
संसद पुनस्र्थापना भएसँगै सबै दलहरुसँग छलफल अगाडि बढाएको प्रचण्ड–माधव समूहका शीर्ष नेताहरुले बिहीबार जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेका हुन् । ‘उहाँहरुले मिलेर अगाडि जानुपर्छ भन्नुभयो,’ जसपा नेता राजेन्द्र महतोले भने, ‘हामीले केपी ओलीको प्रतिगमन त सच्चियो । संविधान बनाउने बेला भएको प्रतिगमन कहिले सचिन्छ भनेर भनेका छौं ।’
यसअघि प्रचण्ड-माधव समूहका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए । नेताहरुका अनुसार संसद विघटनविरुद्ध आन्दोलन गरेका शक्तिहरु मिलेर जानुपर्छ भन्ने मनसायका साथै दलहरुसँग छलफल भएको हो ।
नेकपाको प्रचण्ड- माधव समूहसँग छलफल गर्न बाेलाएपछी जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ पेरिसडाँडा पुगेका थिए।
बैठकमा अध्यक्षद्वय प्रचण्ड र माधवले राजनीतिक परिस्थितिअनुसार सहकार्य गरेर अघि बढ्न प्रस्ताव गरेका थिए। जवाफमा जसपाका नेताहरूले ‘तपाईंहरूको पार्टी कुन हो ?’ भनेर सोधेको थियो।
नेकपा राजनीतिक रूपमा विभाजित भएपनि कानूनी रूपमा नछुट्टिएको, तर सत्ता समीकरणका लागि छलफल तीव्र बनाएsf कारण जसपाले आधिकारिक पार्टीको प्रश्न राखेको जनाएको छ।
सहकार्यको लागि आधिकारीक पार्टी चाहिएको नेता महतोले बताए। बैठकमा प्रचण्डले आफूहरू नै आधिकारिक नेकपा भएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले जवाफ दिएको महतोको भनाइ छ।
बैठकमा विगतमा संविधान संशोधनका सवालमा कांग्रेस, एमाले, माओवादीसित भएका सम्झौता कार्यान्वयन, आफ्ना नेता/कार्यकर्ताको रिहाइ लगायत विषयमा पार्टीको तर्फबाट भनाई राखिएको नेता महतोले जानकारी दिए।
प्रचण्ड–माधव समूहले राखेको प्रस्तावबारे पार्टीमा छलफल गरिने पनि नेता महतोको भनाइ छ।
