Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

कांग्रेसले सरकारकाे नेतृत्व गर्दैन, चुनावी तयारीमा लाग्नुस्- देउवा

User Photo शुक्रबार, चैत्र २७, २०७७
काठमाण्डाै ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गरेर अघि बढ्न सक्ने अवस्था नरहेको भन्दै चुनावी तयारीमा लाग्न सबैलाई आग्रह गरेका छन्।

नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशन २०७७ को शुक्रबार काठमाण्डौमा उद्घाटन गर्दै सभापति देउवाले संरकार गठनमा कांग्रेसले नेतृत्व नलिएको भनेर विरोध वा टिप्पणी गर्नुपूर्व संसदमा कांग्रेसको उपस्थितिलाई बुझ्न आग्रह गरे।

उनले संसदमा आफूहरुको संख्या कम भएको र सरकार गठनका लागि अरुलाई आग्रह गर्दा पनि कसैको सहयोग नपाएको दुखेसो पोखे।

उनले भने, ‘प्रधानमन्त्री बनाउन सक्ने संख्या हाम्रो पुगेन। पार्लियामेण्टमा हाम्रो संख्या नपुगेर हामीले बोलाउन सकेनौँ। यो वास्तविकतालाई बुझ्नु पर्यो सबैले।’

विभिन्न किसिमका टिकाटिप्पणी भन्दा पनि वास्तविकताको धरातलमा बसेर काम गर्नुपर्नेमा उनले सबैलाई आश्वस्त पारे। संसदमा भएको कांग्रेसको उपस्थिति न्यून भएकाले सरकार गठनको पहल गर्न नसकेको भन्दै यथार्थ बुझ्न पनि उनले आग्रह गरे। तर, कांग्रेसले पहल नै गरेन भन्ने गरेकाले शुक्रबार तीन दलको बैठक बोलाएको उल्लेख गर्दै उनले सरकार गठनको निकास ननिस्किए चुनावमा जानुपर्ने भएकाले त्यसको तयारी गर्न पनि आग्रह गरे।

उनले भने, ‘कांग्रेसले वास्तै गरेन भन्या भएर आज बैठक बोलाएको छु। कुनै पनि किसिमको राष्ट्रिय एकता, अखण्डतामा आँच पुग्न नदिने गरी भयो भने त भयो, भएन भने पनि हामी त चुनावमा जानैपर्छ भोलि चुनावमा जानैपर्ने बाध्यता हुन सक्छ। चुनावमा जनताको मन जितेर हामीले सरकार बनाउनुपर्छ। जनताले बिर्सिसके।’

प्रधानमन्त्री ओलीले राज्यसत्तालाई भात्तृसंगठन जस्तो कब्जा गर्न खोजेको र बुख्याँचा बनाउन खोजेको भन्दै त्यसविरुद्ध एकजुट हुन सभापति देउवाले आह्‍वान गरे।

उनले भने, ‘ओलीले सत्ता कब्जा गर्ने कोशिस गरेको छ। उसले चाहेर कब्जा हुँदैन। त्यसैले भोलिको दिनमा एक भएर लाग्नुपर्छ।’

सभापति देउवाले आफूले पटक पटक प्रधानमन्त्री बन्न आग्रह गर्दा त्यसलाई अस्वीकार गरेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्न गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बल्ल थाहा पाएको भन्दै कटाक्ष गरे।

उनले भने, ‘मैले प्रचण्डलाई तपाईं नै हो प्रधानमन्त्री बन्नु भनेको हो नि। उनी उता गइदिए। तपाईं नै प्रधानमन्त्री बन्नु मान्छु भनेको हो मैले। बल्ल थाहा पाए प्रचण्डले आएर। धेरै पटक प्राईमिनिस्टर बनाउन खोजेको होइन हामीले प्रचण्डलाई? तपाईहरुलाई थाहा छ नि। खुट्टै नटेक्ने मान्छे। ओलीले लात हानेपछि ठिक्क भएको छ। अहिले म आफू प्राइमिनिस्टर हुन चाहेको पनि छैन। जोसुकै होस्।’

उनले चुनावको समयमा आफूले कम्युनिष्टको सरकार आयो भने रुन पनि पाइँदैन भनेर भनेको स्मरण गर्दै अहिले अवस्था त्यस्तै आएको बताए। तर, तात्कालीन समयमा आफूले भनेका कुरा कसैले नसुनेको र दुईवटा पार्टी मिलेकाले जनताले पनि तीनै पार्टीलाई भोट दिएको उनले उल्लेख गरे।

उनले भने, ‘मैले पहिला भनेको थिएँ। तपाईहरुलाई याद होला। कम्युनिष्टको सरकार आयो भने तपाई रुन पनि पाउनुहुन्न भनेको थिएँ। दुईवटा पार्टी मिले। मिलेपछि जनताले भोट हाल्दिए के गर्ने। भोट त हाम्रो हातमा छैन नि। जनताले हराएपछि हारिन्छ के गर्ने रु जनताको माझ जाउँ। जनताको दिल जितौ। अनि हामी चुनाव किन जित्तैनौ? जनता यस देशको मालिक हो। जनताको भोट हामीले पाउनुपर्छ। तर जनताले दिदैनन् के गरुँ त। तर समानुपातिकमा त एमाले र हाम्रो बराबर छ।’

सभापति देउवाले संविधानअनुसार भदौभित्र महाधिवेशन गर्नैपर्ने बाध्यता रहेको उल्लेख गर्दै महाधिवेशन सम्पन्न गर्नतर्फ लाग्न र जनताको घर दैलोमा गएर जनताको दिल जित्ने काम गर्न पनि निर्देशन दिए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.