बाँके । एनएमबी (NMB) लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपालगन्ज स्टेशनद्वारा आयोजित स्मार्ट पिकनिक- एनएमबी क्विज कनेक्ट “Smart Picnic : NMB Quiz Connect” (वनभोज कार्यक्रम तथा हाजिरीजवाफ प्रतियोगिता) नामक विशेष कार्यक्रम प्रदेश ५ नेपालगन्ज स्टेशन अन्तर्गतका बाँके र बर्दिया का शाखाहरूको सक्रिय सहभागितासहित भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। संस्थाले कर्मचारीबीच आपसी एकता, सकारात्मक ऊर्जा, ज्ञान आदान–प्रदान तथा संस्थागत अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रमको सञ्चालन खजुरा शाखाका शाखा प्रमुख श्री रबिन्द्र लामिछानेले गरेका थिए। विभिन्न चरणमा विभागीय प्रस्तुति, अन्तरक्रिया तथा मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिएको कार्यक्रम निकै आकर्षक र सहभागीमैत्री रहेको सहभागीहरूले बताएका छन्।
कार्यक्रमका प्रमुख अतिथीका रूपमा उपस्थित नेपालगन्ज स्टेशनका क्षेत्रीय प्रबन्धक श्री राजेन्द्र खड्काले संस्थागत विकासमा टोलीको भूमिका, शाखाहरूबीचको स्वस्थ प्रतिस्पर्धा तथा सेवा विस्तारमा कर्मचारीको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सबै शाखाहरूलाई निरन्तर उर्जावान् भएर अघि बढ्न प्रेरणा प्रदान गरेका थिए।
यस्तै, कार्यक्रमको स्वागत मन्तव्य नेपालगन्ज शाखाका शाखा प्रमुख इन्द्र बहादुर चलाउनेले प्रस्तुत गर्दै स्टेशनस्तरमा हुने यस्ता कार्यक्रमहरूले कर्मचारीबीच कार्यप्रति निष्ठा, समूह भावना तथा सहकार्यको वातावरण सुदृढ हुने विश्वास व्यक्त गरे। उनले नेपालगन्ज स्टेशनअन्तर्गतका सबै शाखाहरूले देखाइरहेको समर्पित सेवा–भावनाको प्रशंसा पनि गरे।
उक्त कार्यक्रमको आर्थिक प्रतिवेदन बनकटुवा शाखाकी कर्मचारी सरस्वती जीसीले प्रस्तुत गरेकी थिइन्।
कार्यक्रमको मुख्य आकर्षण “NMB Quiz Connect” प्रतिस्पर्धा रहेकामा विभिन्न शाखाहरूले उत्कृष्ट प्रस्तुति दिए। प्रतिस्पर्धामा, प्रथम स्थान- बनकटुवा शाखा
द्वितीय स्थान- नेपालगन्ज शाखा, तृतीय स्थान- गुलरिया शाखाले हासिल गरेकाछन । विजयी शाखाहरूलाई पुरस्कार तथा सम्मानका साथ बधाई प्रदान गरिएको थियो।
सहभागीहरूले बताएअनुसार, यस्ता कार्यक्रमहरूले कर्मचारीबीच संचार, नेतृत्व, टिम–वर्क, ज्ञान अद्यावधिक, समस्या समाधान क्षमता र संस्थागत संस्कारलाई बलियो बनाइरहेको छ। कार्यक्रमले शाखाहरूबीचको सम्बन्ध थप नजिक ल्याएको र भविष्यमा सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ। आयोजकका अनुसार, यस प्रकारका गतिविधि आगामी वर्षहरूमा पनि निरन्तरता दिइनेछ, जसले स्टेशन तथा शाखा स्तरमा “एकता, प्रतिबद्धता र उत्कृष्ट सेवा” को संस्कृतिलाई अझ सुदृढ बनाउनेछ।
