रुपन्देहीमा लागूऔषध नियन्त्रणका क्रममा प्रहरीको गोली प्रहारपछि तीन जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूको साथबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसमेत बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार असार २६ गते राति करिब ८:३० बजे प्राप्त गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर, काठमाडौं, ब्युरो शाखा कार्यालय भैरहवा तथा इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको संयुक्त टोलीले मायादेवी गाउँपालिका–६, गुरुवानिया क्षेत्रमा यूपी ३६ जेड ३१५८ नम्बरको भारतीय मोटरसाइकल रोकी जाँच गर्न खोजेको थियो।
जाँचका क्रममा मोटरसाइकल पछाडि सवार भारत उत्तर प्रदेश, अमेठी जिल्ला, भलेसुल्तानगञ्ज थाना, कोटवा गाउँका ४७ वर्षीय इकबाल खानले पेस्तोल (बेरेटा) निकालेर प्रहरीतर्फ लक्षित गर्दै फायर गरेका थिए। त्यसपछि मोटरसाइकल अनियन्त्रित बनेपछि पेस्तोल उनको हातबाट खसेको र उनी भाग्न खोजेको प्रहरीले जनाएको छ।
आत्मरक्षाका लागि प्रहरीले पेस्तोलबाट सात राउण्ड हवाई फायर गरेको थियो। त्यसक्रममा इकबाल खान घाइते भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका तीनै जनामाथि लागूऔषध तथा अन्य सम्बन्धित कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
