
बाढी आयो बाली बगायो,
अरु केही गरेन,
पहिरो आयो घर लडायो
अरु केही गरेन !
तिमीले धान बगेको देखेउ,
मैले कसैको पसिना बगेको,
तिमीले सानो झुप्रो ढलेको देख्याै,
मैले कसैको सपना ढलेको !
पसिना त!
बाढी संगै बगि गयो,
तर सपना
अझै सपना मै सिमित रह्यो !!
मन बुझाँउ कसो गरी ?
सरकार आयो रमिता हेर्यो
अरु केही गरेन !!
तिमीले वर्षामा आएको बाढी देख्याै,
जुन मैले हिउँदमै देखेको थिए,
तिमीले वर्षाको पहिरो देख्याै,
जुन मैले हिउदमै देखेको थिए !
मलाई पागल भन या अरु केही
तर !
जुन दिन बगरका ढुङ्गा ओसारिए
गाउँमा बाढी त्यसै दिन पसेको थियो,
जुन दिन विकासका नाममा
भिरालाे पहाडका रुख काटेर
तस्करको घर-घरमा हुलियो,
गाउँमा पहिरो त्यसै दिन खसेको थियो ।
ढुङ्गै ढुङ्गाको महल बनाउन,
ओसारिएका ढुङ्गाले,
बाडि रोक्न सकेन,
ढुङ्गाको सहरा भनी
भिरालो पहाड नै रित्तिने गरि
ओसारिएका रुखका बाँकी रहेका
ठुटा र जराहरुले पहिरो छेक्न सकेन !
र आज गाउँ सबै
सुख्खा बगर जस्तै समथर भएको छ,
अनि पहाडहरु रुख जस्तै,
ओरालो लागेर एकोहोरो झरिरहेको छ !
कसैले देखेन
हिउँदमा ढुङ्गा ओसार्दा
अनि कोहि बोलेन,
विकासका नाममा विनास भइरहँदा !
सबै मौन रहे,
देख्नेहरुले आँखा बन्द गरे,
सुन्नेहरुले कान बन्द गरे ,
लेख्नेहरुले औंला बाँधे !
जब
लेख्नु पर्थ्यो, लेखेनौं
बोल्न पर्थ्यो, बोलेनौं
सुन्नु पर्थ्यो, सुनेनौं
अनि आफु निर्दोष ठहरिन
सबै दोष जति
प्रकृतिलाई दिन मिल्छ ?
अत:
सहानुभूतिका नाममा
आफ्ना सामाजिक संजालका भित्ताहरुमा
त्यहि बाढी र पहिरोले बगाएका
मृत शरिरको फोटो राख्दै
सस्तो लोकप्रियता अझै
कति खोज्छौ ?
के तिमिले खोजेको
सस्तो लोकप्रियता जस्तै
सस्तो छ र
मान्छेको जिन्दगी ?