भारतको उत्तराखण्डमा हिमपहिरोः ५० जनाको शव र २३ मानव अंग भेटियाे, १५० अझै बेपत्ता

सोमवार, फाल्गुन ३, २०७७, काठमाण्डाै । 

भारतको उत्तराखण्डमा आएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये ५० जनाको शव भेटिएको छ । भेटिएका शवमध्ये अहिलेसम्म २५ जनाको मात्रै पहिचान भएको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् ।

‘कूल शवमध्ये १२ वटा शव आइतबार भेटिएको हो, तीमध्ये पाँच वटा तपोवन सुरुङमा, छ वटा रानीवन गाउँमा र अर्को एउटा शव रुद्रप्रयागमा भेटिएको हो,’ प्रहरी कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । ती सबै शवको पहिचान भइसकेको छ । यसमा नेपालीहरु छैनन् ।

ती शवबाहेक घटनास्थलबाट अरु २३ वटा मानव अंग पनि भेटिएको प्रहरी अधिकारीहरूले जनाएका छन् । चमोली जिल्लाका विभिन्न ठाउँबाट ती अंगहरू भेटिएका हुन् । घटनास्थलमा भेटिएका शवहरूको डीएनए परीक्षण गर्ने र पहिचान गर्ने तयारी भइरहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

हिमपहिरोका कारण झण्डै १५० जना अझै पनि हराइरहेको जनाइएको छ । बेपत्ता भएका अधिकांश व्यक्ति विद्युतगृहमा कार्यरत मजदुर हुन् । उत्तराखण्डमा गत आइतबार विद्युतगृह भएको ठाउँमा हिमपहिरो गएको थियो ।

मृतक तथा बेपत्ता भएका व्यक्तिहरू भारतको उत्तराखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, विहार, झारखण्डका रहेका छन् । त्यसैगरी केही व्यक्ति नेपाली पनि भएको अधिकारीहरूले जनाएका छन् । गत सोमबार चमोली प्रहरीले बेपत्ता भएकाहरुको सूची सार्वजनिक गरेको थियो, जसमा ११ जना नेपालीहरुको नाम छ । उनीहरुको नेपालको ठेगाना भने खुलेको छैन ।

हिमपहिरोका कारण तीव्र बेगको पानी र हिउँले पुल, सडक र दुई वटा विद्युतगृहमा ठूलो क्षति पुगेको छ । विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण सुरुङभित्रै थुनिएका व्यक्तिहरूको खोजी तथा उद्धार प्रयास अझै पनि जारी छ । राष्ट्रिय र राज्य उद्धार टोली, सेना र प्रहरीका टोली घटनास्थलमा खटिएका छन् ।

भारतीय अधिकारीले हिउँको ठूलो हिस्सा एकाएक नदीमा खसेपछि ठूलो बाढी आएको बताएका छन् । तर यो हिमताल विष्फोट भएर हिमपहिरोमा परिणत भएको पाइएको छ ।

विश्वव्यापी तापमान वृद्धिको प्रभावका कारण यस क्षेत्रमा हिमनदीका मुहान क्षेत्र विस्तारै सुक्दै गएका छन् भने जलविद्युत् निर्माणले पनि हिमपहिरो बढी नै जान थालेको विज्ञले औंल्याएका छन् ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अन्तर्राष्ट्रिय अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै