बर्षाै देखी अलपत्र कैलालीको लम्की-टीकापुर-खक्रौंला सडकखण्ड निर्माणको काम असोज १ गतेबाट सुरु हुने भएकाे छ । सडक निर्माण कार्य सुरू गर्ने बारे आज लम्कीमा भएको कार्यक्रममा उक्त जानकारी गराइएकाे हाे ।
उक्त योजना अन्तर्गत लम्कीदेखि खक्रौंलासम्म २९ दशमलव ७ किलोमिटर कालोपत्रे हुने छ । जसकाे लम्की देखि २ दशमलब ५ किलोमिटर र टीकापुर क्षेत्रमा २ दशमलब ५ किलोमिटर गरी ५ किलोमिटर सडक फोरलेनकाे हुने छ भने अन्य भाग दुई लेनको रहने छ।
करिब डेढ अरबको लागतमा निर्माण हुन लागेको सडक कालोपत्रे ३० महिनामा काम सक्ने गरी ठेक्का सम्झौता भई सकेको छ । निर्माण सुरु हुन लागेको सडकको लम्की चौराहादेखि ८ किलोमिटर सम्म कुमार कालिका कन्ट्रक्सन, ८ किलोमिटर देखि १८ किलोमिटर सम्म खड्का कृष्ण कन्ट्रक्सन र १८ देखि २९ किलोमिटर सम्म गाल्भा कन्ट्रक्सन गरी तिन निमार्ण कम्पनीलाई ठेक्का सम्झौता भएको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका इञ्जीनियर पदम मडाईले जानकारी दिए ।
कार्यक्रममा लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले सडकखण्ड निमार्णका लागि साईड खाली गरी सहयोग गरीदिन स्थानीयसँग आग्रह गरेकाछन ।
कार्यक्रममा सहभागीले सडक निमार्णको क्रममा भत्काउनुपर्ने संरचना तथा जग्गाको मुवाब्जा पुनः मुल्याङ्कन गरी छिटो उपलब्ध गराएमा निमार्ण कार्यमा कुनै अवरोध नहुने बताए ।
लम्कीचुहा नगरपालिकाको आयोजनामा हुलाकी राजमार्ग योजना कार्यालय धनगढी, लम्कीचुहा उद्योग वाणिज्य संघ, स्थानीय राजनीतिक दलका प्रतिनिधीका बीच लम्की स्थित झुङ्गा रिर्सोटमा अन्तरक्रिया भएको थियो ।
असोज १ गतेबाट लम्की–टीकापुर सडक खण्डको निर्माण कार्य शुरु हुने र पहिलो चरणमा ८ किलोमिटर सडक खण्डको काम हुने बताइएकाे छ ।

