काठमाडौं ।कालापानी क्षेत्र गायव पारिएको नक्कली नक्सा सरकारले प्रयोग गर्दै आएको नापी विभागले देखाएको छ । तर, विभागकै आधिकारिक नक्सामा वर्षौंदेखि लिम्पियाधुरा छुटिरहेको पाइएको छ । यसले नेपालको आकारलाई करिब ३ सय १० वर्ग किलोमिटर खुम्च्याएको छ ।
भारतले नै बनाएका पुराना नक्सामा पनि लिम्पियाधुरा नेपाली भूमि रहेको प्रस्ट देखिन्छ । उक्त इलाका भारतले ओगट्ने क्रम बढेपछि नेपालले छोड्दै गएको पाइन्छ । नेपालको पूर्व–पश्चिम सिमाना मेची–महाकाली नदी हुन् । सुगौली सन्धिमा पनि त्यही छ । तर, पश्चिममा महाकाली वारिको ठूलो भू–भागमा भारतको हस्तक्षेप नेपाली अधिकारीहरूले रोक्न सकेका छैनन्।
नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले आधिकारिक नक्सामा लिम्पियाधुरा छुटेको पुष्टि गरे । यो उनले विभागको नेतृत्व गर्नुभन्दा पहिल्यैको घटना हो । ‘नक्सा बनाउँदा तत्कालीन दरबार र शाही नेपाली सेनाको तत्कालीन जंगी अड्डाले लिम्पियाधुरा नराख्न आदेश दिएका थिए’, उनले भने, ‘त्यही कारण विभागको कित्ता नापी कालापानी र लिपुलेकभन्दा पर गएन ।’
लिम्पियाधुरा कालापानी–लिपुलेकभन्दा ३० किलोमिटर पश्चिमको भूभाग हो । लिम्पियाधुरा इलाका सरक्क छाडिदिएको नेपाल सरकारले यतिबेला कालापानी–लिपुलेक क्षेत्रसमेत छाडेर बनाएको नक्सा प्रयोगमा ल्याइरहेको छ । उक्त भूमि पनि भारतले कब्जामा लिइरहेको छ ।
नापी एवं सीमाविज्ञ श्रेष्ठले लिपुलेक छुट्दा ३ सय १० वर्गकिलोमिटर जमिन गुमाउनु परेको बताए । ‘कित्ता नापीमा कालापानी र लिपुलेक नेपालतिर नै छ । तर लिम्पियाधुरा भने जानी–जानी छुटाइएको छ,’ उनले भने, ‘नापीले राख्ने की भनेर राय लिएको थियो । तर, तत्कालीन दरबार र शाही सेनाद्वारा नराख्न दबाब आएपछि लिम्पियाधुरा नराखेको हो ।’ उनले त्यसमा तत्कालीन दरबार र सेनाको विशेष ‘इन्ट्रेस्ट’ रहेको बताए ।
नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले पनि लिपुलेकलाई नै आधार मानेर नक्सा बनाइएको स्वीकार गरे । ‘प्रमाणका आधारमा लिपुलेकलाई नै आधार बनाएर नक्सा बनाइएको छ । लिम्पियाधुरा हाम्रो दाबी हो । हाम्रा पुराना नक्सामा पनि लिपुलेकलाई सीमा मानिएको छ’, उनले भने, ‘२०१७÷१८ सालदेखि यही नक्सा प्रयोग भइरहेको छ ।’
त्यसअघिको नक्सा किन खुम्च्याइयो भन्नेबारे भने उनले प्रस्ट्याएनन् । कालापानी नै हटाएको नक्सा जताजतै प्रयोग भएको सम्बन्धमा विभागले पटक–पटक ध्यानाकर्षण गराएको उनले सुनाए । ‘हामीले नक्सा गलत भएको कुरा बाहिर ल्यायौं । तर, अहिले हामीमाथि नै प्रहार भइरहेको छ’, उनले भने ।
सीमासम्बन्धी अध्येता रतन भण्डारीले कालापानी चासो राख्ने विभागकै नक्सामा लिम्पियाधुरा नहुनु दुःखद भएको बताए । सरकार र नापी विभागकै कारण यस्तो त्रुटि भएको उनको भनाइ छ । ‘नापी विभागकै नक्सामा लिम्पियाधुरा नहुनु राष्ट्रियताप्रतिकै गम्भीर षडयन्त्र हो’, उनले भने । उनका अनुसार, सुगौलीसन्धि अघि र पछि तत्कालीन इष्ट इण्डिया कम्पनी र सर्भे अफ इण्डियाले प्रकाशित गरेका नक्सामा महाकालीको उदगमस्थल प्रस्ट रूपमा लिम्पियाधुरा उल्लेख छ । सन्धिअनुसार लिम्पियाधुरा उद्गमस्थल कालीपूर्वका कुटी, नाभी, गुञ्जी, तिंकर र छांगरुलगायत गाउँ नेपालका भएको बताए ।
‘सन् १८५६ पछि इष्ट इण्डिया कम्पनीले नक्सामार्फत महाकालीको शिरमाथि अतिक्रमण सुरु ग¥यो’, उनले थपे, ‘लिम्पियाधुरा उद्गमस्थल काली नदीको ठाउँमा लिपुलेकबाट आउने लिपु खोलालाई काली भन्न थालियो । लिम्पियाधुरा लिपुलेकबाट ३० किलोमिटर पश्चिम छ ।’
नापी विभागद्वारा प्रकाशित नक्सामा महाकालीको उद्गमस्थल लिम्पियाधुरा नदेखाई च्याङ्ला भञ्ज्याङ र लिपुलेकलाई देखाइएको उनको भनाइ छ । भण्डारीले विभागले हालसम्म तीनपटक प्रकाशित गरेको नक्सा नै गलत रहेको दाबी गरे । ‘सन् १९७५, १९७९ र १९९३ मा नापी विभागले नक्सा प्रकाशित गरेको थियो’, उनले भने, ‘पटकैपिच्छे गलत छ ।’ भारतले कालापानीमा सानो पोखरी बनाएर त्यसैलाई महाकाली उद्गमस्थल भन्दै प्रचार गरेको उनको भनाइ छ । गलत नक्सा वितरण गरेको भन्दै सरकार र नापी विभागविरुद्ध मुद्दा हाल्ने आफ्नो तयारी रहेको बताए ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द