Kanoon Post
शुक्रबार, बैशाख ७, २०८१/ April 19, 2024,
शुक्रबार, बैशाख ७, २०८१

Trending :

No tags found.

निर्मला हत्या प्रकरणः सुरवाल पखाल्ने प्रहरीसहित थप २ जना निलम्बनमा

कञ्चनपुरको भीमदत्तगरपालिका –२ महुलीयाकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा थप दुईजना प्रहरी निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले निर्मलाको सुरवाल पखाल्ने महिला प्रहरी चाँदनी साउद र घटनास्थल अनुसन्धान (क्राइम सिन) गर्ने अधिकृत प्रहरी नायव निरीक्षक हरसिंह धामीलाई निलम्बन गरेको हो ।

प्रहरी प्रवक्ता एसएसपी (प्रस्तावित डीआईजी) शैलेश थापा क्षेत्रीले एआइजी धिरु बस्न्यात नेतृत्वको अनुसन्धान टोलीले गरेको सिफारिसका आधारमा उनीहरुलाई निलम्बन गरिएको बताए ।

चाँदनीले साउन ११ गते निर्मलाको शव भेटिएपछि उनले निर्मलाले लगाएको सुरवाल खोलेर पखालेकी थिइन् ।

सुरवाल पखाल्दा प्रमाण नष्ट गरिएको आरोप प्रहरीमाथि लागेको छ । निर्मला हत्या प्रकरणमा यसअघि नै कञ्चनपुर प्रहरीका तत्कालीन एसपी डिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेटी, सीआईबीका डीएसपी अंगुर जिसी लगायत ६ जना प्रहरी अधिकारी निलम्बनमा परिसकेका छन् ।

चाँदनी र धामी निलम्बनमा परेसँगै निर्मला हत्याकाण्डमा निलम्बनमा पर्ने प्रहरीको संख्या ८ पुगेको छ ।

धामीले छानबिन समितिलाई दिएको बयामा भनेका छन्, “साउन ११ गते करिब सवा १० बजेतिर हामी जिल्ला प्रहरी कार्यालयबाट गएका थियौं । साइकल पूर्वउत्तरतर्फ राखिएको देखेका हौं । कापी भिजेको थिएन । तिनवटै कापी एउटै ठाउँमा थियो । प्लाष्टिक च्यातिएको थिएन । अम्बा हरियो थियो । फोटो खिच्दै काठे पुलबाट पारी पुगें । म पुग्नुपूर्व वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश भट्ट निर्मलाको शव भएको उखुबारीमा पुगेका थिए, ताजा भाँचिएका दुई उखुका बारेमा सोध्दा उपस्थित व्यक्तिले भर्खरै भाँचको हुनुपर्छ भन्ने सुनेको हो । मिति २०७५–साउन १० गते दिउँसो र राति पानी परेको थियो । मृतकको सुरवाल र पेन्टी पानीमा चोपलेको मैले देखिन, मृतकको हाततिर केही खतचिन्ह छ कि भनेर हेरेको थिएँ । केही समयपश्चात म सर्च गर्न गएँ, मलाई मृतकको कपडाबारे जानकारी भएन । मृतकको शव दाजु नाता पर्ने लक्ष्मी पन्तले बुझेका हुन् ।”

चाँदनी साउदले भने सुरवाल चोपल्न कसैले निर्देशन नदिएको बताएकी छन् ।

“निर्मला पन्तको घटना स्थलप्रकृति मुचुल्का तथा लाशजाँच प्रकृति मुचुल्का बनाउन मृतकको शव भएको स्थानमा गएको हुँ । मृतकको जीउमा भएको एउटा खुट्टामा अड्किएको पेन्टी र रातो रंगको सुरवला मैले झिकी फोहोर देखेर एक पटक पानीमा चोपलेर मृतकको तल्लो भाग (गुप्तांग) छोपेको हुँ । मृतकको जिउमा लगाएको रातो रंगको पेन्टी, टीसर्ट तथा सुरुवाल लाशसँगै थियो । उक्त कपडा जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छैन । हामीसँग उक्त निर्मलाको जिउमा लगाएको कपडा अहिले पनि छैन । मिति २०७५ साउन १० गते राति वर्षा भएको थियो । मृतकको सुरवालमा खल्ती थिएन । मलाई मृतकको सुरवाल पानीमा चोपल्न र मृतकको तिघ्रामा पानी फाल्न कसैले भनेको होइन ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading