युवा भन्नाले त्यस्तो समुह हो जसमा सर्वाधिक उर्जाशक्ति, लगनशीलता, भरिपुर्ण रुपमा काम गर्न सक्ने इच्छा, चाहना र निडरपन रहेको हुन्छ । कुनै पनि देशको राजनैतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक रूपमा युवा वर्ग रहेको हुन्छ । यो मानव संसाधन विकास (human resource development ) को प्रमुख साधन हो ।
राष्ट्रिय युवा परिषद ऐन २०७२ का अनुसार १६ देखी ४० बर्ष उमेर समुहको व्यक्ति (महिला, पुरुष र तेस्रो लिङ्गी ) लाई युवाको रूपमा परिभाषित गरिएको छ । कृषि विकास मन्त्रालयले ५० बर्ष सम्मलाई नै युवा मानेको छ। नेपालको राजनितिक पार्टी र सामाजिक संघ संस्थाहरुले पनि आफ्नो अनुकुलतामा युवाको परिभाषा गर्दै आएको देखिन्छ। युवा राष्ट्रिय विकासको प्रमुख मानव स्रोत र साधन भएकोले युवाको विकास नभई देशको विकास असम्भव छ । युवा शक्तिको सङ्ख्यात्मक तथा गुणात्मक विकासका माध्यमबाट अहिलेका विकासित तथा विकासशील राष्ट्रले विकास निर्माणमा प्रगती हासिल गरेका देखिन्छ । मुलुकको एकीकरणदेखि प्रजातान्त्रिकरण सम्म युवाले दिएको योगदान नै वर्तमान नेपालको एकमुष्ट परिचय हो ।
हरेक देशको विकास र प्रगतिमा युवा वर्गको योगदान प्रमुख र महत्त्वपूर्ण रहन्छ । यो समुह एउटा सम्भावनायुक्त शक्तिको रूपमा रहेको हुन्छ जसलाई कसरी प्रयोग गर्ने भन्ने कुरा राज्यको निति तथा कार्यक्रममा भर पर्छ । विश्वको जुनसुकै राष्ट्रको आर्थिक विकासको कुरा होस वा राजनैतिक संरचनाको परिमार्जन र परिवर्तन सबै युवा मार्फत गरिएका छन । मार्क जुकरवर्ग, बिल गेट्स युवा सफलताका उदाहरण हुन । यसैगरी मार्टिन लुथर किङ, नेल्सन मण्डेलाको युवा चेतना विश्वमा उदाहरणीय छन् । युवा यस्तो जनशक्ति हो जसको आजको मेहनतबाट भविष्यको रुपरेखामा परिवर्तन आउन सक्छ । विभिन्न राजनैतिक दलले युवाहरुलाई भोट माग्ने सिडिको रूपमा प्रयोग गरेको देखिन्छ । रोजगारीका अवसरको नारा जति लगाए पनि युवाहरू विदेशिन बाध्य छन् ।राजनैतिक सङक्रमणका कारण देशको आर्थिक र सामाजिक क्षेत्रमा अपेक्षाकृत परिवर्तन हुन सकेको छैन ।
युवा शक्तिलाई देशको विकास र समृद्धि गर्न तर्फ आकर्षित भन्दा पनि बिक्रर्षित बनाइएको जस्तो देखिन्छ । युवा वर्गमा भएको जोस, जागर र ज्ञान सिपलाई सहि ढंगबाट स्वदेश मै परिचालन गर्ने खालको व्यवस्थाको कमि देखिन्छ । हुन त युवा वर्गलाई भनेर विभिन्न निति निर्माण र बजेट विनियोजन पनि भएको छ । स्थानीय सरकार देखि संघिय सरकार सम्म युवालाई स्वदेश मै रोजगारको व्यवस्था गर्ने भनी कार्यक्रमहरु ल्याएको पनि छ । भलै त्यसको कार्यान्वयन पाटो प्रभावकारी छैन । हुनत अचेल धेरै युवा बिदेश गएर उच्च शिक्षा हासिल गर्न लालाहित हुने र सकेसम्म उतै जीवन निर्वाह गर्न चाहने हुन्छन् । तर पनि विदेशीयका धेरै भन्दा धेरै व्यक्तिको व्यक्तिगत चाहना भन्दा पनि बेरोजगारीको बाध्यताले बाहिरिनु पर्ने स्थिति छ ।
यसरी युवा शक्ति बाहिरिनुमा हाम्रो देशको शिक्षा प्रणाली पनि हो । जसमा प्रविधिक शिक्षाको कमि , आत्मनिर्भरता बनाउने, स्वरोजगार बनाउने , सिर्जनशीलतामा जोड दिने खालको शिक्षाको कमि इत्यादि हुन ।धेरै जसो युवाको मानसपटलमा विदेश गएर नकमाउने हो भने हाम्रो भविष्य छैन भन्ने खालको सोचले जरा गाडेर बसेको छ, त्यसैले उचित जिवनस्तर बिताउनका लागि आर्थिक जोहो गर्न बिदेशमा जोखिम
पुर्ण काम गर्न बाध्य छन् । यस्तो किसिमको मानसपटल तयार पार्न कहि न कहि सरकार जिम्मेवार छ । सरकारले एकातिर समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना गर्ने अर्को तिर देशमा रहेका उर्जावान व्यक्तिलाई विदेशीन बाध्य बनाएको र देशभित्रै रोजगारी सिर्जना नगर्ने बरु युबाहरु बिदेशीयमा त्यसबाट आउने विप्रेषण (remittance) बाट देश सन्चालन गर्ने र आफ्नो जिम्मेवारीबाट विमुख हुने प्रविधि बढेको पाइन्छ । यसैको परिणाम स्वरुप देशमा भएका सिमित युवाहरू पनि लागू पदार्थ दुर्ब्यसन, जुवा, तास, हत्या, बलात्कार जस्ता जघन्य अपराधमा सलग्न हुन थालेका छन ।
यसले गर्दा सामाजिक असुरक्षा बढ्दै गएको छ । यसरी युवाहरू लागुऔषध तथा आपराधिक क्रियाकलापमा सलग्न हुदा राज्यले त्यस्ता युवाबाट सिर्जित विकृतिको नियन्त्रणमा लगानी लगाउन पर्ने दायित्व थपिँदै गएको छ ।अर्को पाटो भनेको युवाहरुले सामाजिक संजालमा अत्याधिक समय बिताउनु । सामाजिक संजाल आफैमा नराम्रो कुरा चाहिँ हैन तर यसको प्रयोग के कसरी हुन्छ भन्ने कुरा हो। यसको अत्याधिक प्रयोगले विभिन्न मानसिक रोगको सिकार हुने, आत्महत्या बाटो रोज्ने सम्म हुन सक्छ ।
यदि यस्तै अवस्था रहिरयो भने भोलिको हाम्रो समाज कस्तो होला ? यसलाई निराकरणका लागि राज्यले रोजगारीको अवसर सिर्जना गर्नुपर्यो र युवाहरूका लागि सकारात्मक सोचको विकास गर्ने खालको कार्यक्रमहरु ल्याउनु पर्ने देखिन्छ ।युवाहरू जुन पश्चिमा सस्कृतिमा भुली रहेका छन् , उनिहरुलाई पश्चिमा सस्कृतिबाट विमुख गराइ मौलिक सस्कृतिमा लाग्न अभिप्रेरित गर्नुपर्ने अवस्था देखिन्छ।सामाजिक अपराधमा सलग्नलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्नुपर्ने, यसका साथै उनिहरुलाई अपराधीक क्रियाकलाप गर्ने मनसाय नै आउन नदिन अनेकन सिर्जनशील र सामाजिक क्रियाकलापमा लाग्न प्रेरित गर्ने वातावरण सिर्जना गर्नुपर्ने देखिन्छ। सामाजिक संजाललाई उपयोगी र सकारात्मक कामका लागि प्रयोग गर्न अभिप्रेरित गर्ने गरेमा युवाको जोस र जागर खेर जाने थिएन ।
युवा विकासको मेरुदण्ड भएकाले उनिहरुको सहि जोस , जागर , उत्साहलाई सीप र कौशलमा परिवर्तन गरि सरकारले चाहेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक पार्न सकिन्छ । यसमा सरकारको ध्यान जान जरुरी छ ।
- कृतिका तिमिल्सेना, लम्कि
