सपना त समाजवादको देखेका थियौं

हो, जनताका पनि सपना हुन्छन् । जनताका सपना ठुला ठुला जनआन्दोलनहरुमा अभिव्यक्त हुन्छन् । अजङ्गका परिवर्तनहरुमा साक्षात्कार हुन्छन् । जहाँ जनताका सपना साक्षात्कार हुन्छन् त्यहाँ विगतका फोहर बाँकी रहँदैनन् । अँध्यारो बाँकी रहँदैन । घर परिवार, समाज, सरकार, शहर, गाउँबस्ती, खोलानाला नदी, सवै स्वच्छ, स्वस्थ र सुन्दर हुन्छन् । जहाँ जनताको सपना साक्षात्कृत हुन्छ, त्यहाँ मुलुक बगैँचाजस्तो बन्छ । मानिसहरु फुलजस्तै सुवासित मुस्कान छरिरहेका हुन्छन् । आज संसारमा जनताका सपना फुलेफलेका मुलुक पनि छन् ।

हामीकहाँ आज मन्त्री प्रधानमन्त्रीका सपना मात्र बाँकी छन् । सांसदका सपना मात्र बाँकी छन् । ठुला कर्मचारी र भ्रष्ट व्यापारीका सपना मात्र बाँकी छन् । तिनीहरुको मात्र अनुहार तरोताजा छ । चिल्लोचापुल्लो छ । जनता ओइलाएका छन् ।

हो, सपनाको सम्मान हुनुपर्छ । सपनाका महाजन र कवि हाम्रा प्रधानमन्त्रीको त अझै बढी सम्मान हुनुपर्छ । आज नेपाल जे जति छ सम्माननीय प्रधानमन्त्रीको सपनामा छ । हामी समृद्ध सपनावाला र आशुकवि प्रधानमन्त्री पाएर दङ्गदास छौं

सपना त्यसै त्यत्तिकै देखिँदैन । सपनाका पनि केही शर्तहरु छन् । सपना देख्न प्रथमतः फुर्सत् हुनुपर्छ । नरम गरम बिस्तरा हुनुपर्छ । असल खानपानले भरिएको पेट हुनुपर्छ । कि त मनमस्तिष्कमा परिवर्तन आकाङ्क्षाको आगो बलेको हुनु पर्छ । त्यसका लागि आन्दोलनमा उत्रेको जनता बनिनुपर्छ ।
हामी जनता हौं । हामी अहिले आन्दोलनमा छैनौंं । आन्दोलनको कथापुराणमा छौं । अहिले त हामी सपनाका डिलबाट भिरभिरै खुरमुरिएका अवस्थामा छौं । हामीसँग घाइते बिपना छ । व्यापक बेरोजगारी छ । चौतर्फी अभाव छ । भोक लाग्दा खानाको अभाव छ । प्यास लाग्दा पानीको अभाव छ । रोग लाग्दा उपचारको अभाव छ । जाडो हुँदा न्यानो कपडाको अभाव छ । हामीमध्ये कतिलाई रात पर्दा, पानी पर्दा छानाको अभाव छ । गुँडको अभाव छ । काम खोज्न शहर पस्छौं हामी । शहर फोहर छ प्रदूषित छ । डेरा महँगो छ । पाटीपौवा छैनन् । खाना महँगो छ । पिउने पानी पाइँदैन । यहाँ पनि हामीलाई पेट पाल्न सकिने काम छैन । जताततै दुःख छ । पीडा छ । यातना र यन्त्रणा छ । हिउँद आए धुलैधुलो छ । बर्खा आए हिलैहिलो छ । सडक छ त त्यहाँ सडकभन्दा बढी खाडलहरु छन् । उता गाउँ बस्तीतिर बाढी छ । पहिरो छ । कथित राजमार्ग लोकमार्ग र अन्य विभिन्न नामाङ्कित मार्गहरु पनि बाढीपहिरोले अपाङ्ग छन् र सधैँका थर्कमान् छन् । पहाडका गाउँबस्तीहरुलाई पहिरोको प्रकोपले थर्काएको छ । तराइका गाउँबस्तीहरु कतै खहरेका बगरानमा छन् त कतै मित्रदेशलाई समर्पित नहरका कारण मैत्री डुबानमा छन् । यसरी हिमालदेखि तराइसम्मका हामी जनताको निद्रा लखेटिएको छ । ढुक्कले एक छिन सुस्ताउन पनि नपाएपछि सपना कसरी देख्ने ?

सपना देख्न त प्रधानमन्त्री जस्तै निर्धक्क निदाउन पाउनु पर्छ । अघाउन पाउनुपर्छ । हामी जनताले मक्खसँग अघाउन र ढुक्कसँग निदाउन कहाँ पाएका छौं र ? हाम्रा कति लालाबालाहरु घाँसदाउरा बटुल्न भोकभोकै जङ्गलतिर लाग्छन् । सपना देख्न नभ्याउँदै बिपनामै कतिलाई सर्पले टोक्छ । कतिलाई बाघले चिथोर्छ । कति तुइनबाट खस्छन् । तरौं भन्दाभन्दै कति खोलामा लड्छन् । असमेल खोलाले जिन्दगी डुबाइदिन्छ, बगाइदिन्छ । दुःखी आमाबासँगै झुप्राछाप्रामा सुतेका लालाबालाहरु सपना देखुँ भन्दाभन्दै कति अप्रत्यासित पहिरोमा पर्छन् र सामूहिक मृत्युमा पुरिन पुग्छन् । कति छाउगोठमै मर्छन् । सपना देखौँ भन्दाभन्दै कति जबान नेपालीहरु मानवतस्करहरुद्वारा बेचिएर खाडी मुलुकमा पुगेकाछन् र त्यहाँको आगो छर्ने घाममा डढेर आफै खरानी भएका छन् । कति भारत मलेसिया इन्डोनेसियाका गल्ली गल्लीमा थप्पड खाएर लडेका छन् । जनताका विपन्नताको हिसाप छैन ।

यता सिँहदरबार र बालुवाटार दरबारमा प्रधानमन्त्रीका सपना खेल्छन् । चन्द्रागिरीको बनभोज कवितामा समेत पनि प्रधानमन्त्रीलाई सपना फुर्छ । सरकारी साहित्यकारहरु प्रधानमन्त्रीसितै चन्द्रागिरी पुगेर असारे साहित्यको सपना टिप्छन् । ढक्की भर्छन् । फलाकाङ्क्षा भिरेर सत्ताको रुख चढ्न पाउँदा हामीकहाँ प्रायः लेखक कविहरु पहिले पनि महाकवि कालीदास बन्दै आएका हुन् । अहिले पनि बनिरहेका छन् । कालीदासहरुका छुट्टै सपना छन् । कति प्रचण्ड सपना पनि छन् । यो सबै सपनाका चमत्कार हेर्दै उभिएको बिचरो सगरमाथा आफै पीडित छ । दिनानुदिन रित्तिँदै छ । उ अहिले आफुलाई कुल्चिन पठाइने अनगिन्ती लातहरुबाट पनि धेरै नै मर्माहत छ । शरीरभरी छरिएका कीरा हरुको निर्मम टोकाइले मर्माहत छ । एक छिन फुर्सत् पाउँदा बिचरो सगरमाथा मान्छेका लात र तज्जन्य फोहरबाट मुक्तिको सपना देख्छ । विश्रामको सपना देख्छ । नेपाल र नेपालीमा सहृदयता र सौजन्यको सपना देख्छ । सपना साकार देख्न नपाएकोमा तरक्क बन्दै पीडा पोख्छ ।

हो, सपना त पीडित हिमालको पनि हुन्छ । पहाडको पनि हुन्छ । तराइको पनि हुन्छ । पीडितले पीडाबाट मुक्तिको सपना देख्छ । त्यही सपना देख्न पनि एकछिन लोलाउन पाउनुपर्छ । फुर्सत् लिन पाउनुपर्छ । टाटी टेक्ने फुर्सत् पाए सपना त हामी जनताले पनि देख्दाहौं । देखेका थियौं र नै अनेकौं आन्दोलनमा ज्यान फालेर सरिक भएका थियौं । सपना देखेका थियौं र नै सशस्त्र विद्रोहको भयङ्कर आँधीमा हाम फालेका थियौं । हजारौंले ज्यान दिएका थियौं । हामीले आमूल परिवर्तनको सपना देखेका थियौं । साँच्चिकै समाजवादको सपना देखेका थियौं । नेपाली जनजनले काममाम पाएका र सुखसमृद्धि अँगालेका रमाइला दिनका सपना देखेका थियौं । हाम्रा सपनामा ‘कोभन्दा को कम’ शैलीमा बहुलाएका सत्तापक्ष र प्रतिपक्ष थिएनन् । हाम्रा सपनामा सत्तापक्ष जनताप्रति उत्तरदायी थियो । विनम्र थियो । दम्भहीन थियो । प्रतिपक्ष उत्ताउलो थिएन । राजनीतिक प्रेत बनिसकेको अहिलेको जस्तो प्रतिपक्ष त छँदै थिएन । हाम्रो सपनाका राजनीतिक दलहरु सवै सिद्धान्तनिष्ठ थिए । नैतिकतावान् थिए । आमूल नयाँ थिए ।

हाम्रो सपनाको राज्यव्यवस्था निर्वाधरुपमा जनानुमोदित थियो । जनवादी थियो । गोपालप्रसाद रिमालको ‘आमाकोसपना’ जस्तै भयो हाम्रो सपना । आउला भनेको ‘त्यो’ आएन । अर्कै आयो । उही पुरानै खसीको टाउको बल्झेर आयो । बाहुवली र अर्थवलीहरुको त्यही पुरानै ढलीमली दोहोरिएर आयो । सामन्तहरुका राजकीय भोज भतेर र सवारीको तामझाम परम्परागत जो थियो त्यो अझै थप नाङ्गो र थप उत्पीडक बनेर आयो । सत्ताका आफन्त ठेकेदार र कर्मचारीका हितमा समर्पित असारे विकासको रमझम पनि परम्परा धान्दै हिलोमा लतारिँदै आयो । राष्ट्रिय ढुकुटीको मिलीजुली हजम परिपाटी झन् झन् उर्लेर आयो । आम जनतालाई दुनियाँदार बनाएर कान्लामुनिका भ्यागुतामा परिणत गर्ने दलदल र दलबलको पहलमा ‘समाजवादी’ घोडा चढेर ‘पूँजीवादी’ राणाशासन पो आयो । विभिन्न दलका दलपति र उपपतिका हकहितका सवालले पुरिएर आम जनताका हितको सवाल पीँधैमा हरायो । जनताले मत दिएर दरबार मन्दिरमा स्थापित गरेका मनुवालाई चाहिँ सर्वशक्तिमान् सार्वभौम देउता भन्नुपर्ने अनि मतदाता जनताले चाहिँ निरीह शासित बन्नुपर्ने ‘उत्तरआधुनिक राणाशासन’ समेत आयो । आम जनताका लागि ‘पूर्वआधुनिक’ राणाशासन र ‘उत्तरआधुनिक’ राणाशासनबीच तात्विक फरक के ? जनता जुरुक्क उठेर प्रश्न गर्नैपर्ने अवस्था आयो ।

जनताको अनुभव, रायसल्लाह, सहभागिताविनाका र केवल सत्तासीनहरुका स्वार्थपरक सपनामा आधारित ठेकेदारमुखी निर्माण विकासले मुलुकको पर्यावरण ध्वस्त बनाएको छ । पहाडहरु थिलथिलो भएकाछन् । नदीहरु निरन्तरको चोरीनिकाशीमा परेकाछन् । सत्तासीनहरुकै निम्छरो बोली र व्यवहारका कारण एकातिर हाम्रा भौगोलिकसाँधहरु दैनसन्दन रुपमा मिचिएका छन् भने अर्कातिर हाम्रै ढाडमा चढेर अग्लिएका हाम्रै प्रतिनिधिहरु हामीलाई नगण्य बताउँदै आफुलाई अग्रगण्य घोषित गरिरहेका छन् । शैलीगत रुपमा हेर्दा आज पनि मुलुकमा निर्वाचित राणाहरु र तिनका भाइभारदार, गुरुपुरोहितकै शासन छ भन्नु अत्युक्ति हुँदैन । पीडा पोख्दा लबजहरु दोहोरिन्छन् भने त्यो पुनरुक्ति पनि हुँदैन ।

सपना त चन्द्रशमशेरले पनि देखेका हुन् । उनकै सपनाका महलमा आजका सत्तासीनहरु दिनदिनै कुर्सी ओच्छ््याएर बस्छन्, उँघ्छन्, निदाउँछन् र दिउँसै सपना देख्छन् । हाम्रा पुर्खाहरु यस्ता सपनालाई दिवास्वप्न भन्थे र निरर्थक ठान्थे । जुन सपनाले आम जनताका अप्रिय बिपनाको किन्चित् पनि सकारात्मक रुपान्तरण गर्नसक्दैन, त्यो सपना शासकहरुको स्वप्नोल्लास हो र त्यसको बखान पनि केवल वाणीविलास हो । हासपरिहास हो । ठहाका हो । हामी आज पनि शासकहरुको हास परिहास र ठट्टाकै ठहाकामा रन्थनिँदै मात्र जिजिवीषा बाँचेका छौं । हामी जनताका सपना अपहरणमा परेकाछन् ।
हामीले त जनताका सर्वेाच्चताको सपना देखेका थियौं । हाम्रो समाजमा मुलुकको प्रधानमन्त्रीभन्दा एक जनसाधारण सम्मान्य मानिने राजनीतिक ब्यवस्थाको सपना देखेका थियौं । श्रमसम्मान र श्रमिकसम्मानको सपना देखेका थियौं । स्वास्थ्य र शिक्षामा जनताको निःशुल्क र निर्वाध पहुँचको सपना देखेका थियों । व्यापक औद्योगिकीकरणको सपना देखेका थियौं । हामीले हाम्रा शासकहरु मर्यादित तथा सेवाव्रती बन्ने सपना देखेका थियों । हामीले जनप्रतिनिधिका रुपमा व्यापारीले शासन गर्ने र जायज माग लिएर अनशन बसेका एक सत्याग्रहीको उछित्तो काढ्ने राजनीतिक व्यवस्थाको सपना देखेका थिएनौं ।

हाम्रा सपनामा राजनेताहरु सृजेता थिए । सरकार जनसेवी थियो । हामीले विलासी राजनेता र असहिष्णु सरकारको सपनादेखेका थिएनौं । जनताका अगाडि बुट, लाठी, गोलीको उग्र रुप धारण गर्ने सरकार हाम्रो सपनाको सरकार थिएन । हामीले त स्वावलम्वी र स्वाभिमानी नेपालको सपना साकार पार्न इमानदारीका साथ समर्पित समझदार, वफादार, र बहादूर राजनेताहरुको सपना देखेका थियौं । हामीले त समग्र र स्वाधीन नेपालको सर्वतोमुखी प्रगतिको सपना देखेका थियौं । यसै भएर विगतका आन्दोलनमा सरकारका बन्दूकहरुबाट सहस्रौं गोलीका पर्रा छुट्दा पनि साहसकासाथ अघि बढेर हामीले देशी विदेशी सवै दरबारका सपनामा उम्लँदो तातो पानी खन्याएका थियौं ।

हामी हाम्रो अडानमा अडिएका थियौं । हाम्रै बुताबर्गतमा उठेका हाम्रा राजनेताहरु कुनै दिन विदेशीका अगाडि लम्पसार पर्लान् र कदाचित् उठे पनि विदेशीकै मादलमा नाचिबस्लान्, हाम्रा योगदान भुसुक्कै बिर्सलान् भन्ने सपना हाम्रो थिएन । हामीले आन्दोलमा नमागेका र नचाहेका कुराहरु सम्बिधानमा पार्लान्, र हाम्रा जायज सुझाव सल्लाह र मागहरुलाई रछ्यान र जुठ्यानमा हुर्रा लाउलान् भन्ने पनि हाम्रा सपना र कल्पनामा थिएन । हामीले देखेका सपनामा त मुलुकको कार्यकारी शासक जननिर्वाचित थियो । त्यागी तपश्वी र इमानदार राजनीतिक व्यक्तित्वहरुको प्रतिनिधि सभा थियो । त्यस्तै व्यक्तित्वहरुबाट बनेको नमूना सरकार थियो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
बिहि, साउन १०, २०७५ (July 26, 2018, 5:12 pm) मा द्वारा Uncategorized अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै