देश संघीयतामा गएपछि पहिलो प्रदेश ५ मा सञ्चालन भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता भद्रगोलपूर्ण ब्यवस्थापनकै बीच सकिएको छ ।
बुधबार बाँकेको नेपालगञ्जस्थित महेन्द्र रंगशालामा आयोजित समापन समारोहमा कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको समापन गर्नुभएको हो । यससँगै नवाैँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयाेजना हुने भएकाे छ ।
नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा २०७७ को फागुन २० देखि २७ गतेसम्म हुने तालिका समेत सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवले ७५ साललाई स्वर्णकालको संज्ञा दिदै अब खेलकुदले देशको मुहार फेर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘मेरो कार्यकालमा दुईपटक राष्ट्रिय खेलकुद गर्न पाउँदा नेपाली खेलकुदको जग हाल्ने कामका साथै नयाँ ईतिहास रचिएकाे छ ।’
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन कार्यक्रममा बोल्दै कार्यवाहक राष्ट्रपति पुनले भन्नुभयाे, ‘आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कमजोरीका बीच सीमित श्रोत साधनका बाबजुद पनि राम्रोसँग प्रतियोगिता सम्पन्न भएको छ ।’ उहाँले अब गण्डकीमा हुने नवौं प्रतियोगितामा तोकिएको समयमा नै भौतिक पुर्वाधार निर्माणका कार्य सक्न र कुनै पनि गल्ती नदोहोर्याउन सुझाव समेत दिए । आफ्नै प्रदेशमा भएको आठौं खेलकुदले सबैलाई एक बनाएको भन्दै गण्डकी उहाँले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता झनै भव्य हुने विश्वास व्यक्त गरे ।
‘आठौं खेलकुदका बारेमा विशेषगरी बाँके र दाङमा भएको यो खेलकुदले सबैलाई एकजुट बनाएको छ । यहाँबाट प्रतिभावान् खेलाडीको जन्म पनि भएको छ । म बधाई दिन चाहन्छु,’ राष्ट्रिय कीर्तिमान बनाउने खेलाडी तथा पदक विजेतालाई उहाँले बधाई दिनुभयाे । साथै उपराष्ट्रपति पुनले आफू पनि कुनै वेला खेलाडी रहेकाे स्मरण गर्दै राष्ट्रिय प्रतियोगितामा छनोट हुन नपाउँदा एकदमै दुख लागेको सुनाउनुभयाे । उहाँले खेलाडीलाई झनै हौसलाको साथ खेल्न आग्रह गर्नुभयाे ।
उहाँले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता तोकिएकै समयमा सम्पन्न हुने आशा पनि व्यक्त गरे । ‘म विश्वस्त बनाउन चाहन्छु कि नेपालमा हुने १३औं साग अब तोकिएकै समयमा हुनेछ’ भन्दै उहाँले त्यसको तयारीमा लाग्न सुझावसमेत दिनुभयाे ।

सम्बाेधन भएन खेलाडीका गुनासा
राष्ट्रिय खेलकुद परिषदले आठौं राष्ट्रिय खेलकुद सभ्यभब्य रुपले सम्पन्न गरेको भनिए पनि प्रतियोगिताभरि खेल स्थल र खेलाडीहरुका समस्या नै समस्या देखिएका थिए तर सुनवाइ नै भएन ।
प्रतियोगिताका खेल हुने हल, रंगशालाहरु बेलैमा निर्माण तथा उचित व्यवस्थापन नहुँदा खेल स्थल नै सार्नु परेको थियोे । त्यस्तै अधुरा खेल स्थलहरुमा उच्च तापमानमा खेलाडीहरुले आफ्नो ज्यान जोखिममा राख्दै उत्साहपुर्ण तरिकाबाट सहभागिता जनाएका थिए । साथै खेलाडीलेहरुले राम्रो बसोबास र खानपिनको उचित व्यवस्थापन समेत नभएको गुनासो पोखेकाे देखिन्थ्याे । खेलकुदसम्बन्धी सराेकारवाला निकाय तथा व्यक्तिले उनीहरुले गुनासाे नसुनेको खेलाडी तथा प्रशिक्षकले बताए ।
यसै प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुले डिसेम्बरमा काठमाडौँ र पोखरामा हुने १३औं दक्षिण एसियाली खेलकुद ‘साग’ खेल्नेछन् । अहिले काठमाडौँ र पोखरामा सागका लागि पुर्वाधार निर्माण कार्य तीब्र गतिमा भैरहेको राष्ट्रिय खेलकुद परिषदले जानकारी गराएको छ ।
आठौं राष्ट्रिय खेलकुदलाई सागको छनोट प्रतियोगिताका रूपमा लिइन्छ भने नयाँ प्रतिभावान खेलाडीहरुको खोजी तथा प्राेत्साहनकाे उद्देश्यले रूपमा प्रत्येक दुई-दुई बर्षमा आयोजना हुने गरेको छ ।

