सेमिफाइनलमा ब्राजिलसँग हार्दै कोपा अमेरिकाबाट बाहिरिएको अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी रेफ्रीमाथि खनिएका छन् । मंगलबार भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई २–० ले हराएको थियो । पहिलो हाफमा रोबर्टो फिर्मिनोले मिलाइदिएको पासमा गाब्रियल जेसिसले गोल गरेका थिए भने ७१ औं मिनेटमा भएको दोस्रो गोलसँगै ब्राजिल फाइनलमा पुग्यो ।
तर मेस्सीले भने ब्राजिलको दोस्रो गोल अगाडि ड्यानी अल्भेसले सर्जिओ एग्युरोलाई फउल गर्दा अर्जेन्टिनालाई पेनाल्टी नदिएकोमा असन्तुष्टि जनाए । उनले भनेका छन्, ‘उनीहरुकाे खेल हाम्राे भन्दा राम्राे थिएन । उनीहरुले सुरुवातमै गोल गरे र दोस्रो गोल पेनाल्टीबाट भयो, जुन उनीहरुलाई दिइएको थिएन ।’
ब्राजिलको पक्षमा निर्णय गरेको भन्दै रेफ्रीको चर्को आलोचना गरेका उनले अनावश्यक कार्डहरु दिएको तर, एक पटक पनि भीएआर नहेर्नु आश्चर्यजनक भएको बताए ।
रेफ्रीले थुप्रै गलत निर्णय लिएको भन्दै मेसीले आयोजकले यसबारे गम्भीर भएर सोच्ने विश्वास व्यक्त गरेका छन् ।
