Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

सुध्रिदै चिन-अमेरिका सम्बन्धः १६ किसिमका अमेरिकी सामानमा कर छुट दिने चिनकाे घोषणा

User Photo बिहिबार, भदौ २६, २०७६
काठमाण्डाै ।

चीनले १६ किसिमका अमेरिकी सामानमा लगाइरहेको करमा छुट गरेको घोषणा गरेको छ। दुबै देशबीच आगामी महिना हुने व्यापार वार्ताअघि चीनले यस्तो लचकता देखाएको हो।

यी कर छुटहरू आगामी सेप्टेम्बर १७ देखि लागू हुने चीनको भन्सार आयोगले जनाएको छ। छुट हुने वस्तुको सूचीमा सामुद्रिक खाद्य सामग्रीहरू र क्यान्सर प्रतिरोधी औषधि समेत रहेका छन्। यो कर छुट एक वर्षसम्म कायम हुनेछ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सर्वाधिक चासोका रूपमा रहेको अमेरिकी भटमास र सुँगुरको मासुको आयातमा लागेका कर भने यथावतै छन्। चिनियाँ भन्सार विभागले बुधबार जारी गरेको विज्ञप्तिमा थप अमेरिकी सामानमा कर छुट गर्दै जाने जमनकारी दिएको छ।

दुबै देशबीच एक वर्षभन्दा बढी समयदेखि जारी व्यापार वार्तामा सहमति नभएपछि दुबै मुलुकले एकअर्काका अर्बौं डलर बराबरका सामानमा कर बढाएका छन्। विश्व व्यापार र विश्व अर्थतन्त्रमै प्रभाव पारिरहेको यो व्यापार युद्धले विश्व बजारमा त्रासको वातावरण सिर्जना गरेको छ।

चीनसँग व्यापार सम्झौता हुन नसकेपछि राष्ट्रपति ट्रम्पले गतसाता सन् २०१९ को अन्त्यसम्म सबै चिनियाँ सामानमा कर बढाउने घोषणा गरेका थिए। अमेरिकातर्फ निकासी हुने कुल ५ खर्ब ४० अर्ब बराबरका चिनियाँ सामानमा यसै वर्षको अन्त्यसम्म कर वृद्धि हुनेछ।

ट्रम्पको घोषणापछि चीनले पनि अमेरिकी सामानमा कर बढाएको थियो। सेप्टेम्बर १ देखि लागू हुने गरी चीनले ७५ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानमा कर बढाउने घोषणा गरेको थियो।

सयौं अमेरिकी कम्पनी र व्यावसायिक समूहले नयाँ कर घोषणा नगर्न राष्ट्रपति ट्रम्पसमक्ष आग्रह गरेका थिए। उनीहरूको विचारमा कर वृद्धिले रोजगारी गुम्ने र उपभोक्ताले खरीद गर्ने सामान महँगो हुने भन्दै चिन्ता व्यक्त गरेका थिए।

राष्ट्रपति ट्रम्पले भने अमेरिकामा चुनावी प्रचारका क्रममा सामानको मूल्य बढ्छ भनेर चिन्ता गर्ने अमेरिकी कम्पनी र व्यवसायीमा दृष्टिदोष रहेको दाबी गरेका थिए। ट्रम्पले भने, ‘राम्रोसँग नचलेका र कमजोर कम्पनीले मात्र यस्ता कुरा गरिरहेका छन्। उनीहरूको व्यवस्थापन पनि कमजोर छ।’

चिनियाँ सामानमा कर वृद्धि गर्ने मिति सार्न गरिएको आग्रहलाई बेवास्ता गर्दै राष्ट्रपति ट्रम्पले कर वृद्धिसँगै चीनसँग वार्ता पनि हुँदै जाने बताएका छन्। ‘हामीले चीनसँग कुराकानी गरिरहेका छौं। वार्ताका लागि मिति तोकिएको छ। एक अर्काबीच फोनमा संवाद भएका छन्। मेरो विचारमा सेप्टेम्बरमा वार्ता हुनेछ। वार्ता रद्द भएका छैनन्। हेरौं के हुन्छ ? ’ उनले भने। राष्ट्रपति ट्रम्पले चीनसँग व्यापार युद्ध मार्च २०१८ मा आरम्भ गरेका थिए। उनले चीनमाथि अस्वस्थ व्यापार रोक्न, अमेरिकी कम्पनीबाट जबरजस्ती प्रविधि हस्तान्तरण गर्ने प्रावधान हटाउन तथा चिनियाँ कम्पनीलाई सरकारले दिने सरकारी अनुदान रोक्न दबाब दिँदै आएका छन्।

चिनियाँ पक्षले व्यापार वार्ता सकारात्मक रूपमा अघि बढेको भने पनि कुनै सम्झौता भएको छैन। दुबै मुलुकले एकअर्का देशका सामानमा कर बढाएपछि व्यापार वार्ता अवरुद्ध भइरहेको छ।

राष्ट्रपति ट्रम्पले चिनियाँ अधिकारीका भनाइ निकै सकारात्मक रहेका र उनीहरू कुनै सम्झौता गर्न तत्पर रहेको देखिएको बताउनुभएको छ। दुबै देशले एकअर्का मुलुकका सामानमा लगातार कर बढाएपछि व्यापारमा मन्दी आएको अध्ययनले देखाएका छन्। अघिल्लो वर्षको तुलनामा यस वर्षको अगस्टमा चीनमा अमेरिकी सामानको आयातमा २२ प्रतिशतले कमी आएको छ। चिनियाँ भन्सारका अनुसार अमेरिकातर्फको निकासी पनि १६ प्रतिशतले घटेको छ। गत अगस्ट महिनामा करिब ४४ अर्ब अमेरिकी डलर बराबरका सामान मात्र अमेरिकातर्फ निकासी भएको छ। – एएफपी


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.