यती कम्पनीप्रति बढी नै सदाशयता देखाउँदा सरकार यतिबेला विवादमा फसेको छ । तर यती र सरकारसँगको साइनो दुई दशकभन्दा पुरानो हो । आजको कान्तिपुर दैनिकमा याे समाचार प्रकाशित छ ।
‘यतिसँग सरकारको साइनो’ शीर्षकको मुख्य समाचारमा कान्तिपुरले यती कम्पनीलाई पोस्न सरकारले केसम्म गरेन भन्ने कुरा विस्तृतमा उल्लेख गरेको छ ।
तत्कालीन एमाले नेता र शेर्पा परिवार सम्बन्ध मदन भण्डारीको पालादेखि नै निकट थिए । अहिले मदन भण्डारी र पासाङ ल्हामु शेर्पाकै कारण जोडिएको एमाले र शेर्पा परिवारको सम्बन्ध अझै घनिष्ठ भएको छ । यहाँसम्म कि सरकारले नेपाल ट्रष्टको गोकर्ण रिसोर्टको जग्गा यती समूहलाई लिजमा दिनुअघि अनकूल बनाउन एउटा कानुनलाई सात ठाउँमा संशोधन गरिएको छ । लिजको अवधि लम्ब्याउन कठिनाइ हुने नेपाल ट्रष्ट ऐनका सबै प्रावधान परिवर्तन गरेपछि मात्रै मन्त्रिपरिषदले ट्रष्ट सञ्चालक समितिको सिफारिसमा अवधि थप हाे ।
सगरमाथा आरोहणमा जानुअघि पासाङ ल्हामु शेर्पा तत्कालीन एमाले महासचिव मदन भण्डारी र नेता जीवराज आश्रतिलाई भेट्न पार्टी कार्यालय बागबजार पुगेकी थिइन् । पहिलो महिला आरोही बनेर इतिहास लेख्न तम्सिएकी शेर्पालाई राजनीतिमा जबर्जस्त स्थान बनाइरहेका भण्डारीले सफल आरोहणको शुभेच्छा मात्रै दिएनन्, सगरमाथामा फहराउन पार्टीको झण्डा पनि दिए ।
यो २०५० सालको कुरादेखि २०७६ सालसम्मको अवधिमा भएका मुख्य घटनाक्रम
- २०६६ सालमा गोकर्ण रिसोर्टको सेयर दिलाउन तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसँग आग्रह ।
- २०६८ सालमा गोकुल बास्कोटा -वर्तमान सरकारका प्रवक्ता) पासाङ ल्हामु शेर्पा पर्वतारोहण प्रतिष्ठानको सदस्य ।
- २०६९ सालमा केपी शर्मा ओली बिरामी हुँदा आङछिरिङ शेर्पा -पासाङ ल्हामु शेर्पाको देवर)को सहयोग ।
- २०७० सालमा दोस्रो संविधानसभा निर्वाचन प्रचारप्रसारमा एयर डाइनेस्टीको प्रयोग ।
- २०७२ सालमा ओलीको सिफारिसमा कृपासुर शेर्पा पर्यटनमन्त्री, एमाले पार्टी कार्यालय पासाङ ल्हामु प्रतिष्ठानमा र हिमालय एयरलाइन्सबाट प्रधानमन्त्री ओलीको चीन भ्रमण ।
- २०७५ सालमा आङछिरिङको स्मृतिमा विहार बनाउन लुम्बिनीमा चार बिघा जग्गा प्रदान ।
- २०७६ मा दावाफुटी शेर्पा राजदूत नियुक्त र ऐन संशोधन गरी ६ वर्षअगावै गोकर्ण रिसोर्टको लिज अवधि थप ।
