लण्डनमा एक २३ वर्षीय चिनियाँ मूलका सिङ्गापुरका नागरिकमाथि सांघातिक हमला भएको छ । जोनाथन मोकले आफूमाथि कोरोनाभाइरससम्बन्धी रङ्गभेदी आक्रमण भएको जनाएका छन् । आक्रमणपछि उनको अनुहारमा गम्भीर चोट लागेको छ ।
जोनाथन मोकले सोमबार आफ्नो फेसबुक पोष्टमा यसबारे जानकारी दिँदै आफूलाई लण्डनको राजधानीमा अवस्थित अक्सफोर्ड स्ट्रिटमा रहेको व्यस्त सपिङ एरियामा समूहमा आएका केही व्यक्तिले आक्रमण गरेको बताए । घटना गत फेब्रुअरी २४ तारिखमा स्थानीय समयानुसार बेलुका सवा ९ बजे घटित भएको हो ।
‘एक व्यक्तिले मलाई लात्ती हान्दै भने, ‘म तेरो देशको कोरोना भाइरस हाम्रो देशमा चाहन्नँ’ भन्दै अर्को मुक्का हानिहाले । उनको मुक्काले मेरो नागबाट रगत बगिरहेको थियो,’ मोकले लेखे ।
उक्त आक्रमणका कारण उनका अनुहारका केही हड्डीसमेत भाँच्चिएको र यसका लागि शल्यक्रियाको आवश्यकतासमेत पर्नसक्ने डाक्टरले उनलाई बताएको मोकले जानकारी दिए ।
लण्डनको महानगरीय प्रहरीले एक वक्तव्य जारी गर्दै उक्त आक्रमणको अनुसन्धान थालिएको जानकारी दिए ।
‘यसमा आक्रमणकारीको पहिचान गरिँदै छ । सिसिटीभी फुटेजको अनुसन्धान पनि गरिँदै छ,’ पुलिसले आफ्नो वक्तव्यमा जानकारी दिएको छ । ‘अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन ।’
आफू यसअघि पनि आफूविरुद्ध रङ्गभेदी टिप्पणी गरिएको जानकारी दिँदै भने, ‘म पछिल्लो २ वर्षदेखि लण्डनमा पढ्नै आएको छु र प्रत्येक वर्ष ममाथि जानी नजानी रङ्गभेदी टिप्पणी गरिँदै आएको छ,’ उनले लेखे । ‘लण्डन रङ्गभेदी छैन भन्नेहरुले एकपटक पुनः सोच्नुपर्ने बेला आएको छ ।’
