नेपाल सरकारले नेपाल- भारत सिमामा थप कडाई गरेको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीले सिमा सुरक्षालाई थप कडा पारेकाछन, आवातजावत समेत पुर्ण रूपमा बन्द छ।
तराईका अधिकांस क्षेत्रहरुमा सरकार र स्थानिय निकायहरुले सिमा सुरक्षालाई उच्च प्राथमिकतामा राखेका छन्। पुर्वी नाका मेचिनगर नगरपालिका अन्तर्गतको काकभिट्टा देखी उत्तर क्षेत्रमा स्थानिय वडाहरुको समन्वयमा सुरक्षाकर्मी र स्वयंसेवकहरुको बाक्लो उपस्थिति छ।
पुर्वि भन्सार काकडभिट्टामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् भने सो भन्दा उत्तरी क्षेत्रको करिब १६ किलोमिटर सिमामा स्थानिय सहितको गस्ती छ।
लकडाउन अघिसम्म व्यापक चहलपहल हुने राइसिङ ,प्रधानगाउ, प्रसाद गौडा, तिरिङ, नकलबन्दा लगायत स-सना प्रबेश मार्गहरु पनि यति बेला ठप्प छन्।
प्रत्येक ५०० मिटरको अंतरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले गस्ती गरिरहेका छन्। मेचि खोला कटानले बनाएको बगरमा वारीपारी गरि चरन गर्ने चौपाय र तिनका गोठाला समेतलाई यतिबेला वारिपारी गर्न दिइएकाे छैन।
“हामिले चौपाय चराउन आउने गोठाला र उनिहरुका बस्तुभाउलाई समेत वारीपारी गर्न दिएका छैनौ”, गस्तीमा खटिएका प्रहरी अधिकारीले भने।
मेचिनगरपालिका वडा न- ४ का वडाध्यक्ष नवीन बरालले हात्ती रुङ्न बनाइएका टावरहरु समेत सिमा निगरानीका लागि प्रयोग गरेको बताए।बरालका अनुसार उक्त क्षेत्रमा ९ वटा टहराहरु छन्। उनले भने,”हामिले हाम्रो क्षेत्रमा कसैलाई पनि प्रबेश गर्न दिएका छैनौं, हात्ती रुङ्ने सबै ९ वटा टावरहरुमा प्रहरी र स्थानिय युवाहरु २४ सै घण्टा खटिरहनु भएको छ।”
भारतको नक्सल, सिमलतला, खुवाटार, तारावारी हुँदै झापाको मेचिनगर, बुद्धशान्ती र इलामको रोङ गाउँपालिका सम्म भन्सार छलेर कृषीजन्य र अन्य सामाग्रीहरु नेपाल प्रवेश गराउने भएकाले पनि थप कडाई गरिएको अधिकारीहरु बताउँछन्।
टावर नभएका कतिपय स्थानमा प्रहरीले अस्थाई टेण्ट राखेर पनि गस्ती गरिरहेको छ।

