अज्ञात रोगका कारण हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ । रोगको पहिचान नभए पनि ज्वरो आउने, छाति दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने लक्षण देखिएर मानिसको मृत्यु हुने गरेको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताउनुभएको छ ।
१ साता अगाडि पानी परेपछि अज्ञात रोगका कारण मानिसको मृत्यु हुन थालेपनि रोग पहिचन हुन नसकेको उहाँले बताउनुभयो । यद्यपि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु शाहीले भने सिजनल फ्लु हुन सक्ने बताउनुभएको छ । रोगको पहिचान गरेर यसको समाधान गर्न जिल्ला प्रशाशन कार्यालयसँग ताकेता गरिरहेको उहाँले बताउनुभएको छ ।
हालसम्म मृतकको सङ्ख्या ८ पुगेको छ । मृत्यु हुनेमा ताँजाकोट गाउपालिका वडा नम्बर १ का ७० बर्षीया कुशुमा रीठाल र ६० बर्षीया सुरजीत खड्का, वडा नम्बर २ का ५५ बर्षीय रंगे कोली, ५ बर्षकी सुनकेसा सुनार, वडा नम्बर ३ का ७० बर्षीया अम्मकली मल्ल, ७५ बर्षीया बज्जीरे सुनार, ५५ बर्षीय लक्ष्य सुनार र र १० महिनाका बालक सन्जीब थापा रहेको मेला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले जानकारी गराउनुभयो ।
गत चैत २६ गते १ को मृत्यु भएको थियो, भने अन्य सातको बैशाखमै मृत्यु भएको अहेब मोतीलाल जैशीले बताउनुभएको छ । स्वास्थ्य चौकीमा प्रयाप्त मात्रामा औषधि नभएको र भएको औषधि पनि सकिएकाले यसले ठूलो रुप लिएको उहाँको भनाइ छ ।
यो समस्यालाइ समयमै नियन्त्रण गर्न सबै सरोकारवाला लागि पर्न अहेब जैशीले अनुरोध समेत गर्नुभएको छ । मृत्यु हुने सबैमा श्वासप्रश्वास र दमको समस्या रहेको उहाँको भनाइ छ । घटनास्थल सदरमुकाम सिमकोटदेखि ४५ कोष टाढा भएकाले महामारी या सिजनल फ्लु हो, अथवा के कारणले ज्यान गएको हो ? भन्ने विषयमा प्रहरी चौकी मैला र जिल्ला स्वास्थ्य कार्यालयबाट सत्य तथ्य बुझ्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताउनुभयो ।
