गर्मी मौसम सुरु भएसँगै नेपालमा सबै भन्दा बढी वन क्षेत्र रहेको कैलालीमा डढेलो लाग्ने क्रम बढेको छ । कैलालीमा राष्ट्रिय वन, सामुदायिक वन र साझेदारी वन क्षेत्र गरि झण्डै ४० प्रतिशत भन्दा बढी वन क्षेत्रमा डढेलो लागेको छ । डढेलाेका कारण हज्जारौ साना तथा ठुला रुखहरू खरानी भएका छन् ।
कति हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ भन्ने यकिन तथ्याङक नभए पनि जिल्लाको एक लाख ८० हजार हेक्टर वन क्षेत्रमध्ये झन्डै ७२ हजार हेक्टर वन क्षेत्रमा आगलागी भएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ । डढेलो नियन्त्रणका विभिन्न प्रयास भए पनि वनमा आगलागी भने रोकिन सकेको छैन । तराईमा रहेका वनपपिन आगलागीको चपेटामा परेको छ । आगलागीका कारण वनमा ठुलो क्षति भएको छ ।
डिभिजन वन कार्यालय धनगढीका अधिकृत एवं सूचना अधिकारी भीम ढकालले कैलालीमा रहेका दुई लाख पाँच हजार हेक्टर वन क्षेत्र मध्ये २५ हजार हेक्टर वन क्षेत्र विभिन्न वाहानामा अतिक्रमण गरिएको बताए । उनले एक लाख ८० हजार हेक्टर मध्ये अहिले झन्डै ७२ हजार हेक्टर वनमा डढेलो लागेको जानकारी दिए ।
आगलागीबाट सबैभन्दा बढी चुरेको वन प्रभावित भएको छ । चुरे क्षेत्रमा सल्लाका रुखहरू बढी रहेका कारण तिनमा छिट्टै आगो सल्कने साथै भौगोलिक कठिनाइ समेत रहेका कारण चुरे क्षेत्रको डढेलो नियन्त्रण गर्न चुनौतीका रूपमा देखा परेको सव डिभिजन वन कार्यालय सहजपुरका प्रमुख डबल बोहोराले बताए ।
डढेलोका कारण वन मात्रै होइन वनमा आश्रित वन्यजन्तुको बास्थानमा समेत क्षति पुगेको छ ।
