Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

खानीडाँडा विमानस्थलमा मर्मतपछि परीक्षण उडान, जोखिम अझै कायमै

नियमित उडानको माग

User Photo बुधबार, फाल्गुन १४, २०७६
काठमाण्डाै ।

पहिरोका कारण चर्किएको खोटाङको मनमाया राई खानीडाँडा विमानस्थलमा मर्मतपछि परीक्षण उडान भएको छ। दिक्तेलको रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित विमानस्थल पहिरोको कारण २१ म्हिनादेखि अवरुद्ध थियो। मंगलबार नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान गरेको हो।

उक्त जहाजमा काठमाडौंबाट प्रदेशसभा सांसद रामकुमार राई र उषाकला राई आएका थिए। जिल्लाका तीन विमानस्थलमध्ये दिक्तेलबाट सबैभन्दा नजिकको र बढी प्रयोगमा आउने यो विमानस्थलमा मंगलबार र शनिबार नियमित उडानको व्यवस्था मिलाइने नेपाल वायुसेवा निगमका अप्रेसन विभाग प्रमुख दिपुराज ज्वारचनले बताए।

‘उडानका लागि विमानस्थलमा कुनै अवरोध छैन। परीक्षण उडानको प्रतिवेदन बनाएर नेपाल नगारिक उड्डयन प्राधिकरणमा बुझाइन्छ,’ ज्वारचनले भने, ‘उडानका लागि उपयुक्त छ र सुरक्षामा असर पार्ने विषय केही छैन भन्ने भएपछि शनिबार या मंगलबारदेखि नै नियमित उडान भर्ने प्रयास गर्छौं।’

खानीडाँडा विमानस्थल बढी जसो जिल्ला अस्पतालले रेफर गरेका बिरामीलाई अन्यत्र लैजान प्रयोग हुने गरेको छ। २०७५ जेठ १ गतेको भारी वर्षाले ढल थुनिएपछि रन–वेमा जमेको पानी बाहिरिँदा विमानस्थलको दक्षिणतर्फको डिलबाट पहिरो गएपछि विमानस्थल अवरुद्ध भएको थियो।

रन–वेमा भरिएर किनाराबाट निकास भएको पानीले विमानस्थलको १०–१५ मिटर डिल भासिनुका साथै फिलिङ माटो बगाएपछि मर्मत गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

२०६९ साउनमा धावनमार्ग माथिबाट बगेको भलपानीले विमानस्थलको डिल कटान गर्दा पनि उडान अवरुद्ध भएको थियो।

नियमित उडानको माग

परीक्षण उडानपछि विमानस्थलमै आयोजित कार्यक्रममा सहभागीले विमानस्थलमा नियमित उडानको माग गरेका छन्। जनप्रतिनिधि, नेता तथा स्थानीयले जिल्लाको थामखर्क विमानस्थल र लामीडाँडा विमानस्थलभन्दा बढी व्यस्त रहने खानीडाँडामा नियमित उडान गर्न माग गरे।

कार्यक्रममा प्रदेशसभा सदस्य रामकुमार राई र उषाकला राई, जिल्ला समन्वय समिति प्रमुख बबी चाम्लिङ, नेकपाका सचिव रामप्रसाद दंगाल, जिल्ला कार्यालय सदस्य जलसेर राई लगायतले खानीडाँडा–काठमाडौं मात्र नभएर खानीडाँडा–विराटनगर उडानको समेत व्यवस्था मिलाउन अप्रेसन विभाग प्रमुख ज्वारचनको ध्यानाकर्षण गराए। ज्वारचनले तत्काल खानीडाँडा–काठमाडौंलाई प्राथमिकतामा राखेर उडान सुरु गर्ने र आवश्यकता पर्दा खानीडाँडा–विराटनगरका लागि उडानको व्यवस्था मिलाइने जवाफ दिए।

जोखिम अझै कायमै

यो विमानस्थलमा झर्ने भलपानी निकासका लागि रन–वेमुनि बिछ्याइएको नाली मर्मतका क्रममा एक हजार घनमिटर आरसिरी ढलान गर्ने र नालीबाट निकास जाने खोलासम्म पर्खाल लगाउने गरी ठेक्का लागेको थियो। सम्झौता अनुसार ढल पसेर बिग्रिएको धावनमार्गको बीच भागदेखि डिलसम्मको नालीमा आरसिसी ढलान गरिएको छ। त्यसमाथि सम्याएर कालोपत्रे गर्ने, खोलामा ग्याभिन तथा मेसिनरी वाल हाल्ने लगायत काम सकिएपछि विमानस्थल सुचारु भएको छ। तर खोलाबाट विमानस्थलको डिलसम्म पर्खाल लगाइएको छैन। यसले बर्खामा धावनमार्गमा पानी जम्ने र डिल भासिने जोखिम अझै छ।

विमानस्थल पुग्ने सडकको दुरवस्था

मनमायाँ राई खानीडाँडा विमानस्थल नियमित उडानका लागि तयार भए पनि दिक्तेलबाट विमानस्थलसम्म पुग्ने सडकको अवस्था भने नाजुक छ। विमानस्थलसम्म पुग्न प्रयोगमा आउने दिक्तेल–आहाले (१०.७९ किलोमिटर) सडक खण्ड कालोपत्रे भइरहेको छ। तर काममा ढिलासुस्ती हुँदा सो सडकबाट विमानस्थल पुग्न असहज देखिएको व्यवसायी अजय बस्नेतले बताए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.