Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

आठ दिन सम्म मनाइने सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज देखी आरम्भ

User Photo शुक्रबार, साउन ३१, २०७६
काठमाण्डाै ।

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ ।

आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु” भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा आज पनि जारी छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनक देख्न सकिन्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै २०१७ पुस १ गतेको शाही कूपछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । संस्कृतिविद् सत्यमोहन जोशी २०३३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्य व्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको बताउनुहुन्छ । हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने उहाँको भनाइ छ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् ।

आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरालगायत नेवार समुदायको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाइन्छ । गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.