Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

आज आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

User Photo मङ्लबार, असार २९, २०७८
काठमाण्डौ ।

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेख्नेको रामायण अहिले पनि नेपालीको घर–घरमा लय हालेर पाठ गरिन्छ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन्। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भए।

‘वधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो। यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन्। कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए, ‘भोलि भोलि भन्दैमा सब घर बिति गो बक्सियोस् आज झोली।’

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ। भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ।

त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन्। यस उपलक्ष्यमा आज बिहान काठमाडौँको रानीपोखरीअगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र प्रभातफेरी गर्ने कार्यक्रम रहेको जनाइएको छ।
यस वर्ष पनि विगत वर्ष जस्तै कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले भौतिक दूरी आयोजना गरेर मात्र कार्यक्रम गरिने जनाइएको छ। सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसक्नेले भने घरघरमा उनले नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानुजयन्ती मनाउँछन्। यस अवसर भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले जुम विधिका माध्यमबाट पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन्।

भानुभक्तभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन्। भानुभक्तका विषयमा अध्ययन अनुसन्धान गरिरहेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायण जस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्वपूर्ण योगदान गरेकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउछन्। रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युग निर्माण गरेको मानिन्छ।

उनको निधन विसं १९२५ असोजमा भएको थियो। भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.