Naya Media
बिहिबार, जेष्ठ २९, २०८२
| | June 12, 2025
बिहिबार, जेष्ठ २९, २०८२
Advertisement

विवादित राजदूत शेर्पामाथि छानबिन

User Photo
बिहिबार, मंसिर २०, २०७५

काठमाडौं। सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन सुरु गरेको छ। उनीमाथि ‘मानव तस्करीमा सहयोगी’ बनेको गम्भीर आरोप छ। मुलुकको प्रतिनिधित्व गर्दै सम्बन्ध–सेतु बनेकी राजदूत आफैँ विवादमा परेकी छन्। यसबाट द्विपक्षीय सम्बन्ध असहज बन्ने आशंका पैदा भएको छ।

शेर्पामाथि परराष्ट्र मन्त्रालयले छानबिन थालेको छ। ‘राजदूतमाथि गम्भीर आरोप लागेकाले सत्य–तथ्य खोजी भइरहेको छ,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अन्नपूर्णसँग भने, ‘हामीले मिहीन रुपमा अध्ययन गरेर यथार्थ बाहिर ल्याउछौं। आरोप पुष्टि भए आवश्यक कारबाही गर्छाँै।’ छानबिनको निष्कर्ष आएपछि मात्रै यसबारे सरकार बोल्ने उनले बताए। ‘सबै कोणबाट छानबिन हुँदैछ। एकतर्फी मात्र होइन, आरोपित र आरोप लगाउने दुवैबारे अनुसन्धान भइरहेको छ,’ ज्ञवालीले भने, ‘छिट्टै टुंगोमा पुग्छौँ।’


advertisement

यसबारेमा प्रमुख प्रतिपक्षी दलले सरकारसँग जवाफ मागेको छ। कांग्रेसले बुधबार विज्ञप्ति नै जारी गरेर राजदूत शेर्पाको सम्बन्धमा प्रकाशित समाचारबारे सरकारको धारणा माग गरेको हो। राजदूतकै सहयोगीले यस्ता तथ्य सार्वजनिक गर्दा पनि सरकारले अनुसन्धान नथाल्नु दुःखद् भएको कांग्रेसले जनाएको छ। ‘मुलुककै प्रतिनिधित्व गर्ने गरिमामय पद दुरुपयोग हुनुलाई कांग्रेसले गम्भीर रुपमा लिएको छ,’ उक्त दलले भनेको छ, ‘मुलुकको विशेष जिम्मेवारी पाएको प्रतिनिधिबारे प्रश्न उठेपछि सरकार तत्काल बोल्नुपर्छ।’ आरोप पुष्टि भए उनलाई कारवाही गर्न पनि कांग्रेसले माग गरेको छ। ‘राजदूतलाई तत्काल परराष्ट्र मन्त्रालयमा उपस्थित गराएर छानबिन गर्न र दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न आवश्यक छ,’ कांग्रेसले भनेको छ।

राजदूत शेर्पामाथि छानबिनको प्रक्रियाबारे परराष्ट्र मन्त्रालयका अधिकारीले केही जानकारी दिएका छैनन्। शेर्पा तत्कालीन माओवादीको सिफारिसमा राजदूत बनेकी हुन्। उनले सीधै सचिवलाई रिपोर्टिङ गर्छिन्। त्यसैले सचिव नै यसबारे जानकार हुन्छन्। तर सचिव शंकरदास बैरागीले यसबारे बोल्न चाहेनन्। यद्यपि छानबिनमा बैरागी आफैँ संलग्न रहेको मन्त्रालय स्रोतले बतायो।

छानबिनमा अस्ट्रेलिया हेर्ने महाशाखा संलग्न छैन। त्यसकारण अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठ्नसक्ने पनि स्रोतले बतायो। मन्त्रालयका प्रवक्ता भरतराज पौड्याल विदेश भ्रमणमा छन्। सहप्रवक्ता रामबाबु ढकाल पनि यो विषयमा बोल्न डराए। ‘यो विषय मन्त्री वा सचिवसँगै बुझ्नु पर्ला। मैले कतैबाट केही जानकारी पाउन सकिनँ,’ ढकालले भने।

यद्यपि सरकारले दूतावासलाई पत्र पठाएर सबै कामकारवाहीको विवरण मागेको छ। नियोग उपप्रमुख र अन्य अधिकारीमार्फत पनि छानबिन भइरहेको छ।

कसुर गरेकी छैन : राजदूत

राजदूत शेर्पालाई उनकै सहयोगी वाङ्छु शेर्पाले मानव तस्करीको आरोप लगाएका हुन्। वाङ्छु राजदूतकै सवारी चालक थिए। राजदूतले पैसा लिएर मान्छे लैजाने धन्दा चलाएको आरोप उनको छ। उनले राजदूत र उनका पतिले अमेरिका पठाइदिने भन्दै आफूसँग २२ लाख रकम लिएको बताएका छन्। अमेरिकाको भिसा नलागेपछि राजदूत दम्पतीले थप १० लाख रुपैयाँ लिएर अष्ट्रेलिया लगेको आरोप उनले लगाएका हुन्।

अस्ट्रेलियास्थित नेपाली दूतावासले भने वाङ्छुमाथि नै गतवर्ष कारवाही प्रक्रिया अघि बढाएको थियो। दूतावासले २०७४ मंसिर ११ मा परराष्ट्रलाई पत्राचार गरेर कारवाही माग गरेको थियो। कन्सुलर विभागले अस्ट्रेलिया प्रहरीलाई पनि कारबाहीको लागि पत्र पठाएको थियो। नेपालमा ठगिएका पीडितले वाङ्छुमाथि पनि उजुरी गरेका छन्। त्यसैले दोहोरो छानबिन आवश्यक रहेको स्रोतले बतायो।

राजदूत शेर्पाले चाहिँ आफू बेकसुर भएको दाबी गरेकी छन्। ‘मैले यसबारेमा सम्बन्धित निकायलाई स्पष्ट पारिसकेको छु,’ उनले अन्नपूर्णसँग टेलिफोनमा भनिन्, ‘मुलुकलाई आँच पुग्ने कुनै काम गरेको छैन। मसँग भन्दा पनि कन्सुलर विभागमा रहेका राजेन्द्र पाण्डेसँग वाङ्छुबारे बुझ्नुहोला।’

सरकारले पहिले पनि यस्ता विवादमा परेका राजदूतलाई छानबिनपछि फिर्ता बोलाएको घटना छन्। यसअघि कतारबाट मायाकुमारी शर्मा र साउदी अरबबाट हमिद अन्सारीलाई सरकारले आर्थिक हिनामिना र आचरणको विषयलाई लिएर फिर्ता बोलाएको थियो।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.