Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

विप्लव समूहका सबैलाई पक्राउ गर्न देशभर सर्कुलर जारी, शंकास्पद गतिविधि गर्ने जाेकोही निगरानीमा

User Photo मङ्लबार, चैत्र १२, २०७५

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि प्रतिबन्ध लगाएपछि प्रहरीले सो समूहविरुद्ध ‘सर्च एन्ड एरेस्ट अपरेसन’लाई कठोर बनाएको छ । देशभर आन्तरिक सर्कुलर जारी गर्दै विप्लव समूहका नेता–कार्यकर्ता देख्नासाथ सबैलाई पक्राउ गर्न निर्देशन दिइएको हो ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीका अनुसार विप्लव समूहका सबै प्रकारका गतिविधिमाथि निगरानी बढाइएको छ । सोमबारमात्रै विप्लव समूहले कालीकोटमा प्रहरी भ्यानमाथि विष्फोटको प्रयास गरेको थियो ।

तर, सरकारले प्रतिबन्धको घोषणा गरेपछि भने विप्लव समूहका गतिविधि केही कम भएका छन् । त्यसअघि विप्लव समूहले दैनिकजसो देशका विभिन्न स्थानमा बम राख्दै र विष्फोट गराउँदै आएको थियो । सरकारको प्रतिबन्धलगत्तै प्रहरी प्रधान कार्यालयले नेत्रविक्रम चन्द ‘विप्लव’ समूह र उनीहरुको भातृ संगठनले गर्ने सम्पूर्ण क्रियाकलाप निषेधित भएकाले कुनै पनि क्रियाकलाप हुन नदिने र त्यसो भएमा तत्काल नियन्त्रणमा लिएर कारवाही गर्ने’ भन्दै आन्तरिक सर्कुलर जारी गरेको छ ।

सशस्त्र प्रहरीले पनि विप्लव समूहमाथि निगरानी बढाएको डिआईजी सुरज श्रेष्ठले जानकारी दिए । ‘‘उनीहरुविरुद्ध सक्रियता बढाएका छौं । कतिपय स्थानमा नेपाल प्रहरीसँग संयुक्त सुरक्षा गस्ती पनि गरिरहेका छौं । उनीहरुले गोप्य वा सार्वजनिक रुपमा कुनै पनि प्रकारको कार्य गरेको पाइए तत्काल नियन्त्रणमा लिन्छौं,’’ श्रेष्ठले भने ।

नेपाल प्रहरीका प्रवक्ता सुवेदीका अनुसार पछिल्लो एक महिनामा मात्रै विप्लव समूहका १ सय ४६ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये १२५ जनामाथि अनुसन्धान सुरु गरिएको छ । नख्खु बम विष्फोटपछि प्रहरी विप्लव समूहविरुद्ध आक्रामक बनेको थियो । पक्राउ पर्नेमा हेमन्तप्रकाश ओली स्थायी समितिका सदस्य हुन् । उनी नै पक्राउ परेकामध्ये सबैभन्दा ठूला नेता हुन् । यो अवधिमा विभिन्न स्थानबाट हतियार, विष्फोटक पदार्थ पनि बरामद भएको एसएसपी सुवेदीले बताए ।

मुलुकका प्रमुख दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी भौतिक रुपमै ‘हाइ अलर्ट’मा छन् भने राष्ट्रिय अनुसन्धान विभागलाई सूचना संकलनका लागि प्रभावकारी रुपमा लाग्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

विभिन्न पहाडी जिल्लामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ । प्रहरीले देशभर विप्लवका नेता–कार्यकर्ता रहने सम्भावित स्थानमा छापासमेत मारेको छ । पछिल्लो समय विप्लव समूहका सबैजसो केन्द्रीय तहका नेताहरूको मोबाइल अफ छ । विप्लव समूहकै कारण सीमा नाका, ग्रामीण क्षेत्र, राजमार्गलगायत क्षेत्रमा उल्लेख्य मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सरकारले गतिविधिमा प्रतिबन्ध लगाएपछि अब विप्लवको नेकपाले सार्वजनिक रुपमा सभा, जुलुस, संगठन विस्तार आदि गर्न पाउने छैनन् । यस्तो अवस्थामा प्रहरीले पर्चा–पम्प्लेट वितरण, संगठन विस्तार, चन्दा संकलनलगायत सहयोग गरेमा पनि पक्राउ गर्न सक्नेछ । प्रहरी अधिकारीका अनुसार शंकास्पद गतिविधि गर्ने जाेकोही पनि निगरानीमा रहन्छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.