नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर आंशिक रूपमा देखिएको छ ।आफूमाथि सरकारी प्रतिबन्ध हटाउनु पर्ने र पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश वली (सुदर्शन) लगायत नेता कार्यकर्ता गिरफ्तारी विरुद्ध पार्टीले आज नेपाल बन्दको घाेषणा गरेकाे थियो।
हिजो साझा देखी नै विप्लव समूहले आफ्नो गतिविधि बढाएको थियाे। बुधबार साझ नै चौधरी गुरुपको उद्योगमा बम विष्फोट भएको थियाे भने आज बिहानैबाट देशका विभिन्न ठाउँमा बम विष्फोटका साथै शंकास्पद वस्तुहरु भेटिएको प्रहरी प्रशासनले जनाएको छ ।
देशका विभिन्न ठाँउमा बम विष्फोट
रुपन्देहीमा ३ ठाउँमा बम विस्फोट भएको छ। बिहान ३ बजेतिर सैनामैनामा ठूलो आवाजसहित विस्फोट भएकाे थियो, तेस्तै देवदहको धकधैइमा पनि बिहान ४ः३० बजेतिर ठूलो आवाजसहित विस्फोट भएको त्यहाँका एक स्थानीयले बताएका छन्। रुपन्देहीको कोटीहवा नजिकै (टाइगर प्यालेस जाने बाटोमा) बम भेटिएर आर्मीको टोलीद्वारा डिस्पोज गरेको सूचना प्राप्त भएको छ। यसबाहेक केही ठाउँहरुमा शंकास्पद वस्तुहरु फेला परेका छन्।
यता भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको यात्रुबाहक बसमा पेट्रोल बम प्रहार भएको छ भने कञ्चन गाउँपालिका परिसरमा पनि बम फेला परेको छ ।
यस्तै पाल्पाको रिब्दीकोट गाउँपालिकामा बुधबार राति शक्तिशाली बम विस्फोट भएको छ। राति १ बजेर २५ मिनेट जाँदा रिब्दीकोट गाउँपालिका-४, खस्यौलीमा रहेको भवनको बाहिरपट्टि बम बिस्फोट भएको स्थानीय गणेशप्रसाद आचार्यले बताए।
बम बिस्फोट हुँदा गाउँपालिकाको सेवाग्राहीका लागि निर्माण गरेको सेडको छाना, कार्यालयका झ्याल-ढोकाका सिसा, फोटोकपी, कम्प्युटर लगायतमा क्षति पुगेको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए। बम कसले र किन पड्काएको भन्ने विषयमा प्रष्ट नभएको उनले बताए। प्रहरीले घटनास्थलको मचुल्का उठाएको छ। गाउँपालिकामा बम विष्फोट भएपछि स्थानीय त्रसित छन्।
हिजै चौधरी ग्रुपको उद्योगमा बम विस्फोट भएको थियो। नवलपरासी सुस्तापूर्वमा पनि ठाउँठाउँमा बम फेला परेका छ्न्। बेल्डिया र रजहरको पुलनजिकै बम फेला परेको प्रहरीले जनाएको छ। डिस्पोजल टोलीले देखिएका बमहरु निस्कृय पारेकाे जनाएकाे छ।
यस्तै कावासोती १६ डण्डा पथ्तरखोला पुल नजिक रोकिराखेको भारतीय ट्रकमा आगजनी गरिएको छ। भारतको गुजरातबाट काठमाडौं जानका लागि आउँदै गरेको आर जे ०२ जिबी २८७० नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ। आगलागीबाट ट्रकको अगाडि भागमा क्षति पुगेको छ।
बुधबार बझाङको सदरमुकाम चैनपुरमा शक्तिशाली बम विस्फोट भएको थियो। विप्लव नेकपा बझाङले मसाल जुलुस प्रदर्शन गरेलगत्तै विस्फोटको ठूलो आवाज आएको थियो। विस्फोटका क्षतिबारे जानकारी आउन बाकी छ।
त्यसैगरी पोखराको जिरो किमी नजिक टेपले बेरिएको शंकास्पद वस्तु फेला परेको समाचार प्राप्त भएको छ। त्यस्तै सर्लाहीको विभिन्न ठाउँमा बम फेला तथा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको समाचार प्राप्त भएको छ। सर्लाहीको लालबन्दीको फुलजाेर पुलमा शंकास्मद वस्तु फेला परेको छ।
त्यसैगरी तनहुँको तनहुँ शुक्लागण्डकी–४, दुलेगौंडामा पनि शंकास्पद वस्तु फेला परेको बताइएको छ। बन्दको कारण कलकारखाना, शैक्षिक संस्था, यातायात र व्यापार व्यवसाय सबै बन्द भएका छन्।
हेटाैंडामा गाडी जल्याे
हटाेैंडामा पनि दुई वटा सवारीसाधनमाथि विप्लव कार्यकर्ताले आगजनी गरेकाे छ। भीमफेदी गाउँपालिकामा तरकारी बाेकेकाे ट्रक र थाहा नगरपालिकामा बुधबार राति कुखुरा बोक्ने जिपमा आगजनी गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
थाहा नगरपालिका–४ सिमभञ्ज्याङमा हेटौंडातर्फ आइरहेको ना२च ९०९४ नम्बरको कुखुरा बोक्ने जिपमा तीन जनाको समूहले आगजनी गरेका प्रहरीले जनाएकाे छ।
जिपको अगाडिको भागमा पूर्ण रुपले क्षति पुगेको छ। त्यस्तै, भीमफेदी गाउँपालिका–९ गोलमोडमा बिहीबार मध्यरातमा १२ः२० बजे पालुङतर्फ गइरहेको ना ४ ख ७९६० नम्बरको तरकारी लोड गरेको मिनी ट्रकमा तोडफोड र आगजनी गरिएको छ। ट्रकको अगाडिको भागमा पूर्ण रुपले क्षति पुगेको छ।
