Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

डेढ ताेलाकाे सिक्री दिए मात्रै खीर खाने र वेहुली लिने जिद्दीले वेहुला पुगे प्रहरी खाेरमा

पाँच वर्षसम्म कैद वा पचास हजार जरिवाना हुन सक्ने

User Photo शुक्रबार, जेष्ठ १०, २०७६
मोरङ ।

मोरङ जहदा गाउँपालिकाकी २१ वर्षीया मञ्जु (नाम परिवर्तन)को गत फागुन १० गते जहदाकै २४ वर्षीय लक्ष्मण राजवंशीसँग विवाह पक्का गरियो । दुवै परिवार र केटाकेटी दुवैबीच जेठ ३ गते विवाह गर्ने सहमति गरियो ।

विवाह पक्का भएपछि मञ्जुका बुबा खर्च जुटाउनतर्फ लागे। तराइवासी मधेसी समुदायमा केटा पक्षले तिलक माग्ने चलनका कारण अधिकांश परिवार पीडित छन्। तर लक्ष्मणका परिवार र आफन्तले मञ्जुका परिवारसँग तिलकका नाममा कुनै माग राखेनन्। यसबाट मञ्जु लक्ष्मणप्रति निकै प्रभावित भइन्।

केटा पक्षले कुनै माग नगरेपनि आफ्नी छोरीलाई एक सरो सबै सामान दिने रहर गर्दै उनका बुबा विवाहको तयारीमा लागे। सामान्य खेती किसानी गर्ने मञ्जुको परिवारकालागि एकसरो सबै सामान दिनु पनि ठुलै कुरा थियो। विवाहको तयारी र सरसामान खरिदका लागि उनका बुबाले एक विगाहा जग्गा धितो राखेर गाउँकै साथीभाईसँग २ लाख रुपैयाँ ऋण जुटाए। थप ३ लाख रुपैयाँ उनले खेतीपातीबाट भएको आम्दानीबाट खर्च गरे।

केटा पक्षले तिलकमा केहि नमागेपनि केटा पक्षलाइ एउटा होण्डाको साइन मोटरसाइकल, ९० हजारमा काठको दराज, सोफा र पलङ, २२ हजार पर्ने फ्रीज र २४ इन्चको एउटा एलइडी टीभी दिएको मञ्जुका काकाले बताए।

जेठ २ गते मञ्जुका दाजुको पनि विवाह थियो। बबियाबिर्ताबाट बेहुली लिएर आएको राजवंशी परिवार ३ गते लक्ष्मण र उनका जन्तीको स्वागतमा तल्लीन भए। मागी विवाह भएकाले मञ्जुको मनमा केही डर, कौतुहलता र विवाहको उत्सुकता पनि थियो। निक्कै खुसी थिइन् उनी।

३ गते राति आएको जन्तीलाई विवाह सम्पन्न भइसकेपछि विदाइको खीर खान दिइयो। तर न त बेहुलाले खीर खाए न जन्तीले नै। बेहुलीका परिवार र आफन्तले खीर किन नखाएको भन्ने जिज्ञासा राखेपछि। बेहुला लक्ष्मणले डेढ तोलाको सुनको सिक्री दिए मात्रै खीर खाने र बेहुली लिएर बिदा हुने बताए।

विवाहलाई लिएर उत्सुक मञ्जुको खुशी धेरै समय टिक्न सकेन। लक्ष्मणले विवाह सम्पन्न भइसकेपछि सुनको सिक्रीको माग गर्दै बेहुली नलाने अडान कसेपछि उनी छाँगाबाट खसेजस्तै भइन्।

मञ्जुका परिवार र स्वयं लक्ष्मणकै आफन्तलेपनि उनलाई त्यसो नगर्न सम्झाए। तर उनले नमानेको र सिक्री नदिएसम्म बेहुली नलाने र छोडपत्र गर्ने भन्दै अडान कसेपछि आफूहरु अलमलमा परेको मञ्जुका काकाले बताए।

‘हामिले खीर खान र बेहुली लिएर जान धेरै अनुरोध गर्‍यौं,’ मञ्जुका काकाले भने, ‘तिलकमा कुनै कुरा माग गरिएको थिएन। रातको समयमा बेहुलाले एक्कासी सुनको सिक्री मागेपछि हामिले कसरी व्यवस्था गर्नु?’

बेहुलालाई तत्काल बेहुली लिएर जान र पछि यो विषयमा छलफल गर्न अनुरोध गरेपनि नमाने पछि बेहुला र जन्तीलाई घरमै राखेर सोही रात मञ्जुका आफन्त मझारे प्रहरी चौकी पुगे। प्रहरीले लक्ष्मणका बुबालाई प्रहरी चौकीमा झिकाएपनि कुरा मिल्न सकेन।

मझारे प्रहरी चौकीमा कुरा नमिलेपछि उनीहरुले जहदा गाउँपालिका–४ का वडा अध्यक्षलाइ जन्ती र बेहुला जिम्मा लगाएर जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका थिए।

सोहि निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालयले लक्ष्मणलाई बुधबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले केटा पक्षले सुनको सिक्री र डायनिङ टेलव माग गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जानकारी दिए।

आर्थिक अवस्था न्यून भएकोले माग भए बमोजिमको सामाग्री दिन नसक्ने कुरा बताए पछि बेहुला पक्ष बेहुलीलाई मण्डपमै छोडेका कारण लक्ष्मणलाई पक्राउ गरी मुलुकी अपराध ऐन २०७४ अन्तर्गतको विवाह सम्बन्धी कसूर बमोजिम जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए।

केटी पक्षले विवाहमा भएको पाँच लाख रुपैयाँ खर्च केटा पक्षले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। उनीहरुले लक्ष्मणको घरमा आफ्नी छोरी नपठाउने बताए।

के छ कानुनी व्यवस्था?

अपराध संहिताको दफा १७४. विवाहमा लेनदेन गर्न नहुने व्यवस्था छ। सोहि दफाको उपदफा २ अनुसार कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।

त्यस्तै उपदफा ३ मा कसैले विवाह गरी सकेपछि चल, अचल सम्पत्ति वा दाइजो माग गर्न वा त्यस्तो चल, अचल सम्पत्ति वा दाइजो नदिएको कारणले दुलही वा निजका नातेदारलाई कुनै किसिमले हैरान पार्न, सताउन वा कुनै अमानवीय वा अपमानजन्य व्यवहार गरेको खण्डमा पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ। उपदफा ५ मा कुनै सम्पत्ति लिएकोमा त्यस्तो सम्पती सम्बन्धित व्यत्तिलाई फिर्ता दिनुपर्ने कानुनी व्यवस्था छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.