दुई दिनअघि उत्तर प्रदेशको बार काउन्सिलकी पहिलो महिला अध्यक्ष छानिएकी दरवेश यादवको बुधबार साथी अधिवक्ताले गोली हानी हत्या गरेका छन् । हमला गर्ने अधिवक्ता मनिष बाबु शर्माले पनि आफूलाई पनि गोली हानेका छन् । उनलाई अस्पताल भर्ना गरिएको छ र स्थिती गम्भिर बताइएको छ । दरवेश बार काउन्सिलका २४ सदस्यमध्ये एक्ली महिला थिइन् ।
दरवेशको अधुराे स्वागतको कार्यक्रम
भारतीय संचार माध्यमका अनुसार बुधबार अदालतको परिसरमा दरवेशको स्वागत कार्यक्रम थियो । कार्यक्रमपछि उनी वरिष्ठ अधिवक्ता अरविन्द कुमार मिश्राको चेम्बरमा बसेकी थिइन् ।
स्थानीय पत्रकार विवेक कुमार जैनका अनुसार बुधबार दिउँसो करिब तीन बजे युपी बार काउन्सिलकी अध्यक्ष दरवेश यादव र अधिवक्ता मनिष शर्माबीच केही विषयमा विवाद भयो । आगराका असिस्टेन्ट डिरेक्टर जनरल अजय आनन्दका अनुसार विवाद यति बढ्यो कि अधिवक्ता मनिष शर्माले दरवेश यादवलाई तीन पटक गोली हाने ।
अवकाशप्राप्त डिएसपीकी छोरी
दरवेशका पिता डिएसपी थिए । दरवेश सन् २०१६ मा बार काउन्सिलकी उपाध्यक्ष र सन् २०१७ मा कार्यकारी अध्यक्ष पनि भइन् ।
