चेलीबेटी बेचबिखनको आरोप लागेका नुवाकोट दुप्चेश्वर गाउँपालिका– १ का वडाध्यक्ष सुनबहादुर तामाङलाई पाटन उच्च अदालतले ‘क्लिनचिट’ दिएको छ ।
नुवाकोट जिल्ला अदालतबाट ३७ वर्ष कैद सजाय पाएका वडाध्यक्ष तामाङलाई उच्च अदालतले सफाइ दिएको हो । चेलीबेटी बेचबिखन मुद्दामा उनलाई जिल्ला अदालत नुवाकोटले ७ चैत २०७४ मा ३७ वर्ष ६ महिना जेल र २ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । तर, सोमबार उच्च अदालत पाटनका न्यायाधीश रमेशबहादुर थापा र हरिप्रसाद केसीको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै तमाङलाई सफाइ दिने फैसला गरेको हो ।
सुनबहादुरका आफ्नै गाउँका तीन जना पीडित महिलाले बम्बईबाट फर्केर आएपछि प्रहरीमा जाहेरी दिएका थिए । पीडितको जाहेरीको आधारमा नुवाकोट प्रहरी कार्यालयले उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर गरेको थियो ।
पहिलोपटक सुनबहादुरलाई चेलीबेटी बेचबिखनको मुद्दा २०५१ सालमा लागेको थियो । २०५१ सालमा नुवाकोट जिल्ला अदालतले उनलाई ६ वर्ष कैद तोकेको थियो । त्यसपछि प्रहरीले उनलाई ‘फरार’ सूचीमा राख्यो ।
फरार सूचीमै रहेकै बेला सुनबहादुरले २०७४ वैशाखमा स्थानीय चुनावमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराए । कांग्रेसबाट उनले वडाध्यक्ष जितेका थिए ।
