तरकारी तथा फलफुलकाे मूल्य अस्वभाविक रुपमा बढाएका तरकारी बव्यापारीमाथी सरकारले कारवाही गरेकाे छ । बल्खु र कालीमाटी तरकारी तथा फलफूल बजारमा वाणिज्य विभागले आकस्मिक अनुगमन गर्दै कारवाहीका लागी सिफारिस गरेकाे हाे । शुक्रबार बिहान ३ बजेदेखि अनुगमन गरिरहेको विभागका अनुसार अहिले सम्म दर्जन बढी पसल कारबाहीमा परि सकेका छन ।
तरकारीको मूल्य अस्वभाविक रुपमा बढाइएको गुनासोपछि बल्खु र कालीमाटीको बजार अनुगमन गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।
अनुगमनका क्रममा कालिमाटीका ७ र बल्खुका ८ गरी १५ वटा तरकारी पसललाई अनुगमन टोलीले कारबाही सिफारिस गरेको छ । बिलबिजक बिनै कारोबार गरेको तथा बिचौलियको काम गरेको भेटिएपछि टोलीले कारबाही सिफारिस गरेको हो ।
किसानसँग तरकारी खरिद गरेको बिल बिजक बिनै बजारमा तरकारी तथा फलफूलको बिक्री वितरण भइरहेकाले कति मूल्य बढाइएको हो भन्ने यकिन गर्नै नसकिएको अनुगमनमा खटिएका विभागका कर्मचारी शोभाकर रेग्मीले बताए ।
बाढी र पहिरोलाई कारण देखाउँदै पछिल्लो केही दिनदेखि तरकारी तथा फलफूलको मूल्य एक्कासि बढाइएको छ ।
