नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिलविजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले ३ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार रेजिङ इन्टरनेसनलका सञ्चालक सञ्जिव मास्केले नक्कली बिलविजक तयार पारी १४ करोड ८७ लाख बराबरको राजस्व चुहावट गरेको पाइएको छ ।
विभागले मास्केविरुद्ध बिगोको दोब्बर जरिवाना र ३ वर्ष कैद मागदाबी गरेको छ । वस्तु तथा सेवा नै खरिद नगरी नक्कली भ्याट बिल बनाइ भ्याट र आयकरसमेत छली गरेको पाइएको हो । विभागका अनुसार मास्केले ४ करोड ३२ लाख ६९ हजार २८३ रुपैयाँ बराबरको भ्याट तथा १० करोड ५४ लाख ३९ हजार ५९५ रुपैयाँ बराबरको राजस्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ ।
यस्तै, विभागले हेटौंडा उपमहानगरपालिका–२ मा रहेको अनुमान कन्स्ट्रक्सनका सञ्चालक शालिकराम न्यौपानेसमेत २ जनाले ८ करोड ६२ लाख बराबरको नक्कली भ्याट बिल बनाइ राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको छ । विभागका अनुसार उक्त कन्स्ट्रक्सनका सञ्चालक न्यौपाने र कर्मचारी विश्वराज सुवेदीले २ करोड ५० लाख १४ हजार १९८ बराबर भ्याट बिल र ६ करोड १२ लाख ४ हजार ६०२ बराबरको आयकर चहुावट गरेको पाइएको छ ।
उनीहरुले ८ करोड ६२ लाख १८ हजार ८०० बराबरको राजस्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ । विभागले बिगोको दोब्बर जरिवाना र ३ वर्षसम्म कैद माग गर्दै ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागले पछिल्ला दिनमा नक्कली भ्याट बिल बनाउने र आयकर छली गर्नेविरुद्ध आक्रामकरुपमा कारवाही सुरु गरेको छ । विभागका महानिर्देशक मैनालीका अनुसार नक्कली भ्याट बिल बनाउने र आयकर छल्नेमाथि विभागले गहनरुपमा अध्ययन गर्दै धमाधम मुद्दा दायर गरिरहेको छ ।
रासस
