सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्धको रिटको सुनुवाइका लागि संवैधानिक इजलास गठन गरेको छ ।
राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित सांसद गौतमको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा परेको रिट निवेदनउपर सुनुवाइका लागि बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्वमा संवैधानिक इजलास गठन गरिएको हो ।
५ सदस्यीय इजलासमान्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र हरिकृष्ण कार्की रहेका छन् । केही बेरमा यही इजालसमा मुद्दाको सुनुवाइ हुँदैछ।
अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टले गौतमलाई राष्ट्रियसभा सदस्य र मन्त्री नबनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।यसअघि न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले उपाध्यक्ष गौतमलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म कुनै पनि जिम्मेवारी निर्वाह नगर्न आदेश जारी गरेको थियो।
वामदेवको मनोनयन विवाद अदालतमा पुगेपछि मन्त्रिमण्डल पुनर्गठनसमेत त्यसले प्रभावित गरेको छ। यो मुद्दाको टुंगो लागेपछि मात्रै मन्त्रिमण्डल फेरबदल गर्ने समझदारी दुवै अध्यक्षबीच भएको छ।
