Kanoon Post
शनिबार, बैशाख ८, २०८१/ April 20, 2024,
शनिबार, बैशाख ८, २०८१

Trending :

No tags found.

बहिनी सदीक्षाको साहसले मुद्दा अदालतमा, एक जना पुर्पक्षका लागी थुनामा

काठमाण्डाै ।

सदीक्षा बाँस्तोला अमेरिकाको टेक्सासमा पाइलटको तालिम लिइरहेकी थिइन् । पुस ५ गते राति अचानक फोनको घण्टी बज्यो । त्यसपछि जुरुक्क उठेकी उनी अहिले पनि राम्ररी सुत्न सकेकी छैनन् ।

दाजु प्रवीणको मृत्युको खबरले उनी घर फर्कने तयारीमा लागिन् । र, तीन दिनपछि उर्लाबारी आइपुगिन् । ‘सक्नै लागेको पढाइ गर्न त जीवन बाँकी छ । तर एक्लो दाजुको मुख फेरि हेर्न नपाउने भएकाले तत्काल प्लेन चढेर आएँ,’ उनले भनिन्, ‘घटनाबारे बुझ्दा दाजुको सामान्य मृत्यु नभई हत्या नै भएको निष्कर्षमा पुगें ।’

पटकपटक गएर इलाका प्रहरी कार्यालय उर्लाबारीमा बुझ्दा अनुसन्धान भइरहेको भन्ने तर किटानी जाहेरी लिन नमान्ने गरेको उनले सुनाइन् । ‘पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै किटानी जाहेरी लियो । त्यसपछि सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भन्दै दुई पटक फाइल फिर्ता गरेको पनि जानकारी पायौं ।’ हत्या घटना भए पनि प्रहरीले संलग्न भएको आरोपमा पक्राउ परेकालाई अभद्र व्यवहारमा मुद्दा चलाएपछि झन् शंका थपिएको उनले बताइन् ।

किटानी जाहेरी दिएको ४/५ दिनमै पक्राउ परेकाहरूलाई सरकारी वकिल कार्यालय विराटनगरको आदेशमा प्रहरीले छाडेको थियो । अनुसन्धानमा प्रहरीले ढिलासुस्ती गर्दै घटना दबाउन खोजेको भन्दै आफन्तको साथमा सदीक्षा आइतबार इलाका प्रहरी कार्यालय पुगिन् । ‘कस्तो अनुसन्धान भइरहेको भनेर प्रहरीसँग सोधखोज गर्‍यौं । फाइल देखाउन दबाब दियौं,’ उनले भनिन्, ‘फाइल हेर्दा त दाजुको फोटोमा फोटोसप गरी अर्कै फोटो राखेको फेला पर्‍यो ।’ फर्जी फोटो राख्ने प्रहरीले अनुसन्धानमा अरू के–के गरेको होला भन्ने मनमा प्रश्न आएको उनले सुनाइन् । त्यसपछि उनले प्रहरी लापरबाहीबारे जानकारी गराउँदै फेसबुकमा लाइभ गरिन् । उनले गरेको लाइभमा प्रहरीले तत्काल अर्को फाइल खडा गरेको समेत रेकर्ड भएको छ ।

हत्या घटनामा प्रहरी अनुसन्धानमा भएको ढिलासुस्ती, प्रहरीको शंकास्पद गतिविधिलाई लिएर चौतर्फी सत्यतथ्य छानबिनको आवाज उठिरहेको छ । उनको अगुवाइमा भएको दबाबले जिल्ला प्रहरी मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा छानबिन टोलीसमेत गठन भएर अनुसन्धान भइरहेको छ । सदीक्षाको आवाजले हत्या घटना न्यायालयसम्म आइपुगेको स्थानीय बताउँछन् । प्रमाण संकलनका लागि तत्काल लाइभ नगरेको भए आफूलाई गलत सावित गर्न बेर नलाग्ने उनको भनाइ छ । मुद्दा अदालतसम्म पुगेकाले अब न्याय नमर्ने उनले विश्वास गरिन् ।

सामान्य परिवारकी उनी स्थानीय माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेर काठमाडौंको एक इन्स्टिच्युटमा एयर होस्टेसको तालिम लिन्थिन् । सौर्य र श्री एयरलायन्समा काम गरेर उनी पाइलट कोर्सका लागि अमेरिका गइन् । उनको पढाइ सकिन चार महिना बाँकी छ । तर दाजुलाई न्याय प्राप्तिको सुनिश्चितता नहुन्जेल नफर्किने उनको अठोट छ । ‘सामाजिक सञ्जालको शक्ति यतिसम्म हुँदो रहेछ भन्ने मैले सोचेको थिइनँ,’ उनले भनिन्, ‘न्यायको यो अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छु ।’ कान्छी सदीक्षासहित तीन दिदीबहिनीका एक्ला माइती हुन्, प्रवीण । ‘दाइ अब फर्केर त आउन सक्नुहुन्न,’ उनी भन्छिन्, ‘न्याय पाए परिवारका सबैले कम्तीमा चित्त बुझाउँथे, त्यही भएर यत्तिका संघर्ष गर्नुपरेको छ । तर, न्यायको संघर्ष सकिएको छैन ।’

एक जना पुर्पक्षका लागी थुनामा, चार फरार

उर्लाबारी- ५ का ३१ वर्षीय प्रवीण बाँस्तोलाको शंकास्पद मृत्यु घटनामा मोरङ जिल्ला अदालतले आरोपित एक जनालाई पुर्पक्षका लागि थुनामा राख्न र अर्का एक जनालाई तीन लाख धरौटी लिएर तारिखमा छाड्ने आदेश गरेको छ ।

जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलासले बिहीबार उर्लाबारी–६ का रिकेश शिवा भन्ने मेहरमान दर्जीलाई पुर्पक्षका लागि थुनामा राख्ने र सोही ठाउँका कुमार राईलाई ३ लाख धरौटी लिएर तारिखमा छाड्ने आदेश दिएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए । उक्त घटनामा ६ जनाविरुद्ध मंगलबार जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । दुवै जनाको बुधबार अदालतमा बयान लिइएको थियो । बाँकी चार जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गर्ने धमलाले बताए । उर्लाबारी नगरपालिका–६ का राजेश रणपहेली, सुदीप परियार, दीपेश पौडेल, रमेश गिरी, मेहरमान दर्जी र कुमार राईविरुद्ध मुद्दा दर्ता भएको हो । उक्त घटनामा सत्यतथ्य लुकाएर दोषीलाई उन्मुक्ति दिने षड्यन्त्र गरेको भन्दै मृतकका परिवारजन तथा आफन्त आइतबारदेखि आन्दोलित छन् ।

उर्लाबारी–४ स्थित रमेश गिरीको घरमा डेरा गरी बस्दै आएका मेहरमान दर्जीले प्रवीणलाई पुस ४ गते फोन गरेर बोलाएका थिए । मेहरमान, दीपेश, राजेशसँगै प्रवीणले उर्लाबारी पूर्वपट्टिको बस स्ट्यान्डनजिक सौरवी होटलमा मदिरा सेवन गरेर सबै मेहरमानको डेरामा सुत्न गएका थिए । प्रवीणको राति नै मृत्यु भएको र त्यसको जानकारी परिवारलाई बिहान ११ बजे मात्रै गराइएको थियो ।

घटनाको भोलिपल्टै पक्राउ परेका मेहरमान, दीपेश, राजेशलगायतमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएर अनुसन्धान थालेको थियो । उनीहरूलाई फागुन २ गते छाडिएकाले मृतकका परिवारजनले न्याय नपाउने आशंकाले खोजीनिती गर्न थालेका थिए । घटनामा जिल्ला प्रहरीले प्रहरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा छानबिन टोली गठन गरी अनुसन्धान गरिरहेको छ । पोस्टमार्टम प्रतिवेदनले मृत्युको कारण नखुलेपछि भिसेरा परीक्षणका लागि पूर्वक्षेत्रीय विधि विज्ञान प्रयोगशाला धरानमा पठाइएको थियो ।

‘भिसेरा प्रतिवेदनमा पनि स्पष्ट रूपमा मृत्युको कारण नखुलाएपछि पुनः पत्राचार गरेर मृत्युको कारण खुलाई पठाइदिन आग्रह गर्‍यौं,’ उनले भने, ‘भिसेरा परीक्षण प्रतिवेदनमा निसास्सिएर मृत्यु भएको उल्लेख भएर आउँदा समय लाग्यो र जसले प्रहरीको अनुसन्धानमाथि शंका उब्जायो ।’

कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading