इलाम र झापाको सीमावर्ती क्षेत्र राँके बजारमा आगलागी हुँदा करिब दुई करोड मूल्य बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।
आगलागीबाट तीन वटा सटरसहितको घर जलेको छ । आगलागीबाट राँके बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका श्रीबहादुर विष्टको जुत्ता, चप्पल र फेन्सी पसल तथा तीलविक्रम बस्नेतको खाद्यान्न एवं किराना पसल जलेर पूर्णरुपमा नष्ट भएको छ ।
देउमाई नगरपालिका-१ का स्थानीय ठालुराम श्रेष्ठको घरमा गएराति आगलागी भएको थियो । बेलुका करिब ८ बजेबाट शुरु भएको आगो राति ११ बजे निभाइएको थियो । पाँचथरको फिदिम नगरपालिकाबाट आएको दमकलको सहयोगमा स्थानीयबासी र सुरक्षाकर्मीले आगो निभाएका थिए ।
मेची राजमार्गसँगै जोडिएको राँके बजारमा करिब दुई वर्ष अगाडि पनि आगलागी भएको थियो ।