सोमबार बिहानै काठमाडौँको सुकेधारामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । बिहान करिब पौने ६ बजे बा ४ ख ५९२० नम्बरको बसले पैदल हिँडिरहेकी २२ वर्षीय सृष्टि पन्तलाई ठक्कर दिएको थियो ।
गोरखा घर भइ धुम्बाराही बस्दै आएकी पन्तलाई गम्भीर घाइते अवस्थामा उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक पन्त चाबहिलस्थित पशुपति वहुमुखी क्याम्पसमा बीबीए चौथो वर्षमा अध्ययनरत थिइन् । आफ्नो सहपाठीको मृत्युपछि सो क्याम्पसका विद्यार्थीहरु सडकमा विरोध प्रदर्शन गरिरहेका छन् ।
आक्रोसित विद्यार्थीले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन् भने बा ३ ख ४४३३ नम्बरको बस तोडफोड गरेका छन् । प्रहरीले आगजनीमा संलग्न केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।
