Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 16, 2026
शुक्रबार, बैशाख ४, २०८३

दाङबाट काँकडभिट्टातर्फ हिँडेको यात्रुबस दुर्घटना, दुई जनाको मृत्यु

User Photo बिहिबार, माघ ८, २०७७
काठमाण्डाै ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ हिँडेको यात्रुबस दुर्घटना हुँदा घटनास्थलमै एक जनाको र उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।

दाङबाट काँकडभिट्टातर्फ हिँडेको ना ५ ख ४४८८ नम्बरको यात्रुबस आफैं अनियन्त्रित भई रोडदेखि १० मिटर तल पल्टिँदा बसमा सवार ३० जनामध्ये दुईको मृत्यु भएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए।

चालकसहित पाँच जनाको अवस्था गम्भीर रहेका कारण उनीहरूलाई न्युरो अस्पताल वीरगञ्ज उपचारका लागि पठाइएको छ। अरु तीन जनाको नमूना अस्पताल हरिवनमा उपचार भइरहेको छ। नौ जनाको अवस्था सामान्य रहेका कारण स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

आज बिहान करिब ४ः५० बजे भएको दुर्घटनामा मृत्यु हुनेमा दाङ राप्ती गापा–५ का ३६ वर्षीया राजकुमारी चौधरी र दाङ राप्तीका २३ वर्षीया की रीता चौधरी रहेको दुर्घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए। उक्त यात्रुबसमा सवार बाँकी ११ जना सकुशल रहेको सर्लाही प्रहरीले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

त्यस्तै सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडकमा गए राति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा खडक नगरपालिका–११ निवासी २१ वर्षीय मोटरसाइकल चालक सिवेन्द्र साह र पछाडि सवार २५ वर्षीय अरविन्द यादव रहेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। त्यस्तै मोटरसाइकलकै पछाडि सवार २५ वर्षीय सुनिल चौधरी घाइते भएका छन्। घाइते चौधरीलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मोटरसाइकल चालक साहसहित तीन जना सवार प्रदेश नं २–०१–००१ प ६१४६ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा हुलाकी सडकखण्डको हुलाकी सडक परियोजना क्याम्प नजिक आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो। रासस


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.