Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

यस कारणले बम दिदिबहिनी शंकाको घेरामा

User Photo मङ्लबार, भदौ १२, २०७५

महेन्द्रनगर । १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा बम दिदीबहिनी शंकाको घेरामा परेका छन् । किन उनीहरू शंकाको घेरामा परे भन्ने विषयमा अहिले सर्वत्र चासो बढेको छ ।

पन्त र रोशनी मिल्ने साथी थिए । भीमदत्त नगरपालिका–२ मा पर्ने सरस्वती मावि महुलिया उल्टाखाममा उनीहरू दुवै कक्षा ९ मा पढ्थे । बर्खे बिदाको छुट्टी चलिरहेको थियो । साउन २० गतेदेखि स्कुल खुल्ने तयारी थियो । निर्मलाको घरनजिकै थियो, स्कुल । सधैं स्कुल पढ्न आउने रोशनी उनकै घरमा आफ्नो साइकल राखेर जान्थिन् ।

निर्मलाकी आमा दुर्गादेवी पन्त घरमै चटपटे व्यवसाय गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिइन् । रोशनीको प्रायः सधैंजसो निर्मलाको घरमा आउजाउ भइरहन्थ्यो । तर निर्मला कमै मात्रै रोशनीको घर जान्थिन् । त्यही पनि साथीहरूको साथमा । साउन ९ गते निर्मलालाई बोलाउन रोशनी उनको घरमै पुगेकी थिइन् । घर पुगेकी उनले निर्मलालाई चटपटेको २० रुपैयाँ दिन बाँकी थियो । ‘भोलि मेरै घरमा आउनू, चटपटेको पैसा पनि दिनु छ, सँगै बसेर होमवर्क गरौंला’, साउन ९ गते रोशनीले आफ्नी छोरीलाई भनेको कुरा सम्झिँ

रोशनीको घरमा उनकी दिदी बबिता उर्फ अनिता बम र उनी बस्ने गर्थिन् । होमवर्क गर्न गएकी निर्मला दिउँसो २ बजे नै त्यहाँबाट फर्किसकेको बताइए पनि उनी भने घर पुगिनन् । ‘म त्यही दिन सामान लिन वनवासा गएकी थिएँ’, दुर्गादेवीले भनिन्, ‘घर पुगेर निर्मला कहाँ छे भनेर खोजें, अरू छोरीले साथी रोशनीकोमा गएकी छ भने ।’ साँझ पर्न लाग्दासमेत छोरी घर नपुगेपछि खोज्दै रोशनीको घर पुगेको उनको भनाइ छ । तर त्यहाँ पुग्दा रोशनीले दिउँसै घर गइसकेको बताए पनि उसकी दिदी आक्रोशपूर्ण शब्दमा आफूप्रति खनिएको उनले दुर्गादेवीले बताइन् । छोरी होमवर्क गर्न गएको घरबाट हराएपछि उनको शंका बढ्दै गएको थियो । ‘मैले पटक–पटक रोशनीकै घरमा गएर छोरी खोज्ने प्रयास गरें’, उनले भनिन्, ‘तर रोशनीकी दिदी अनिताले घरको गेटभित्र समेत पस्न नदिएर उल्टै नराम्रो व्यवहार देखाइन् ।’

स्थानीय प्रहरी प्रशासनले समेत छोरी खोज्न सहयोग नगरिदिँदा पीडित बनेकी दुर्गादेवीलाई साउन १० गते रातभर निद्रा परेन् । अर्को दिन भोलिपल्ट पनि खोजी सुरु भयो । ‘त्यस दिन समेत म बिहान फेरि मनले मानेन र सोध्न गएँ’, उनले भनिन्, ‘त्यसदिन समेत उनले घरभित्र गएर हेर्न दिइनन् । नजिकैको खोलामा खोजी गर्नेले साइकल भेटियो भन्दा उल्टै साइकल भेटियो त लास पनि त्यतै भेटिएला नि भन्ने जवाफ फर्काइन् ।’

साउन ११ गते निम्बुखेडा खोलानजिकैको उखुबारीमा निर्मलाको शव हत्या गरिएको अवस्थामा फेला प¥यो । होमवर्क गर्न गएको घरदेखि नै घटना सुरु भएको थियो । तर प्रहरी अनुसन्धान त्यतातिर केन्द्रित हुन सकेन । र निरन्तर दबाबमूलक कार्यक्रम भए । ‘प्रहरीले अनुसन्धान जहाँबाट गर्नुपर्ने थियो, त्यहाँबाट सुरु नै गरेन’, स्थानीय एवं अधिकारकर्मी प्रीतिधिर भण्डारीले भनिन्, ‘साथी हराएर आमा खोजी गर्न आउँदासमेत अभद्र रूपमा प्रस्तुत हुनुको कारणले समेत शंका मान्न सकिन्छ ।’

साथी हराएपछि चिन्तित भएर आमालाई सहयोग गर्नुपर्ने ठाउँमा घरभित्रै समेत पस्न दिइनन् । ‘छोरी कहाँ गई भनेर खोज्न आउदा घरभित्रै समेत पस्न नदिएर दुव्र्यवहार गर्ने काम भयो’, भण्डारीले भनिन्, ‘त्यसबाट पनि त्यही घरमा केही घटना भएको थियो कि भन्ने आशंका सबैलाई लागेको हो ।’

प्रहरीले निर्मला होमवर्क गर्न गएको घरबाट अनुसन्धान सुरु गर्नुपर्ने भए पनि बम दिदीबहिनीलाई अनुसन्धानको दायरामै नल्याउँदा घटना रहस्यमय गराइएको उनको भनाइ छ । ‘हामीले रोशनीकी दिदीबहिनीले मारे भनेर भनेका पनि थिएनौं, त्यो घरमा गएकी छोरी हराएकाले उनीहरूलाई थाहा होला भन्ने शंका हो’, उनले भनिन् ।

निर्मलाका बुबा यज्ञराजले प्रहरीले घटनाको सुरुवात भएको ठाउँलाई नै अनुसन्धानको विषय नबनाएको गुनासो गरे । शव फेला पर्दासमेत बम दिदीबहिनीले खासै चासो नदिएको स्थानीय बताउँछन् । घटनामा छोरीहरूको संलग्नता देखिएको पाइए कानुनअनुसार सजाय भोग्नुपर्ने रोशनीकी आमा इन्द्रा बमको भनाइ छ ।

भदौ ४ गते पत्रकार सम्मेलन गरी आरोपी सार्वजनिक गर्दा तत्कालीन एसपी दिल्लीराज विष्टले घटनाको अनुसन्धानका क्रममा बम दिदीबहिनीको कुनै संलग्नता नदेखिएकाले अनुसन्धानको दायरामा नल्याएको बताएका थिए । परिवार र स्थानीयले रोशनी र उसकी दिदीलाई हिरासतमा लिएर अनुसन्धान गर्न पटकपटक आग्रह गरे पनि उनीहरूलाई हिरासतमा लिइएको थिएन ।

शंकाको घेरामा रहेको घर र त्यहाँ बस्ने बम दिदीबहिनीमाथि अनुसन्धान केन्द्रित नभई भदौ ४ गते प्रहरीले बालिका बलात्कारको घटनामा संलग्न रहेको अभियोगमा मानसिक सन्तुलन ठीक नभएका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेपछि घरपरिवार र स्थानीयको आक्रोश प्रहरी प्रशासनविरुद्ध देखियो । र आक्रोशले आन्दोलनको रूप लिदै हिंसात्मक हुन पुग्यो र गोली चल्ने अवस्था सिर्जना भयो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.