Naya Media
आइतवार, असार ८, २०८२
| | June 22, 2025
आइतवार, असार ८, २०८२
Advertisement

बम विष्फोट गराउने तीन पक्राउ

User Photo
आइतवार, भदौ १७, २०७५

विराटनगर । मोरङको विराटनगर महानगरपालिकामा २१ दिन अघि गराइएको बम विष्फोटमा जयकृष्ण गोइत नेतृत्वको सशस्त्र भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को संलग्नता पुष्टि भएको छ।

प्रहरीले प्रेसर कुकर बम विष्फोटमा संलग्न तीन जनालाई पक्राउ गरेपछि घटनामा गोइत समूहको संलग्नता पुष्टि भएको हो । प्रहरीका एक अधिकारीले लामो समयको अनुसन्धानपछि ठूलै मेहनत गरेर विष्फोटमा संलग्नलाई पक्राउ गर्न सकिएको जानकारी दिए।


advertisement

महानगरपालिका कार्यालयमा गत साउन २७ गते दिउँसो २ बजे बम विष्फोट गराइएको थियो । विष्फोटमा संलग्नमध्ये एक जनालाई विराटनगरबाट र दुई जनालाई सिरहा जिल्लाबाट आइतबार बिहान २ बजे पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेका तीनै जनालाई मोरङ प्रहरीको हिरासतमा राखेर थप सोधपुछ गर्ने काम भइरहेको छ । उनीहरुले घटनामा संलग्नता स्वीकार गरिसकेको प्रहरीले जानकारी छ।

उनीहरुविरुद्ध विष्फोटन सम्बन्धी र ज्यान मार्ने उद्योगमा मुद्धा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको छ । प्रहरीका एक अधिकारीले तीन जना भन्दा बढीको संलग्नतामा घटना गराइएका कारण संगठित अपराध ऐन पनि आकर्षित हुन सक्ने र त्यस विषयमा आवश्यक अनुसन्धान अघि बढाउन कानुनविद्हरुसँग राय लिने र आवश्यक सल्लाह गर्ने काम भइरहेको जनाए । पक्राउ परेका तीनै जना गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ती मोर्चा (क्रान्तिकारी) का कार्यकर्ता रहेको जनाइएको छ।

पक्राउ परेका मध्ये मोरङको जहदा गाउँपालिकाका मनोज सिंहको मात्रै नाम खुलेको छ । अरु दुई जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले छ जनाको संलग्नतामा घटना गराइएका कारण थप अनुसन्धान गर्नु पर्ने भन्दै पक्राउ परेका तीन जनाको विवरण दिन मानेनन् । ‘घटनामा तीन जना हैन, छ जना संलग्न छन्,’ उनले भने, ‘त्यही भएर अहिल्यै सबै कुरा खोलिहाल्न हुँदैन ।’

तराईमा भूमिगत संघर्ष गरिरहेको गोइत नेतृत्वको समूह पछिल्लो समय निस्कृय जस्तै थियो । सुरक्षा अधिकारीले सरकारलाई पूर्वी तराईमा पछिल्लो समय कुनै पनि भूमिगत समूहको चलखेल र गतिविधि नभएको भनेर आश्वास्त पार्दै आएका थिए । यस घटनाले सरकारलाई सुरक्षा अधिकारीले गर्दै आएको रिपोर्टिङमै प्रश्नचिन्ह खडा गराएको छ । महानगरपालिकामा दिउँसै विष्फोट गराएर गोइत समूहले दुई जिल्ला सप्तरी तथा सिरहामा मात्रै सीमित छैनौं र निस्कृय पनि छैनौं भन्ने सन्देश दिन खोजेको रुपमा लिइएको छ।
घटनास्थलबाट त्यतिबेला प्रहरीले जयकृष्ण गोइत नेतृत्वको सशस्त्र भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को पर्चा फेला पारेको भए पनि यो कुरालाई भने लुकाइएको थियो । यस घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी विष्फोटमा गोइत समूहको संलग्नत स्वीकार्न पनि तयार थिएनन् । अनुसन्धान गर्दै जाँदा गोइत समूहकै संलग्नता पुष्टि भएपछि भने अनुसन्धानले अर्को मोड दिएको सुरक्षा स्रोतले बतायो।

तराईमा भूमिगत संगठनको कुनै गतिविवि नरहेको रिपोर्टिङ सरकारलाई भइरहेका बेला गोइत समूहले विष्फोट गराएको र घटनास्थलमा गोइतकै पर्चा भेटिएको कुरा बाहिर ल्याउँदा कतिपय प्रहरी अधिकारीलाई आफू अप्ठेरोमा पर्ने डर पनि भएका कारण यस विषयलाई लुकाइएको कतिपयको बुझाई छ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विष्फोट गराएको दावी गर्दै आएको थियो । घटनामा संलग्न पक्राउ परेपछि भने प्रहरीको दावी झुटो सावित भएको छ।

एसपी केसीले महानगरपालिकाको सीसीटिभी फुटेजमा घटनाको कुनै पनि कुरा रेकर्ड नभएका कारण विष्फोटमा संलग्नको पहिचान गर्न प्रहरीलाई समय लागेको बताए । बजारको सुरक्षाका लागि महानगरपालिका कार्यालय बाहिर सडकमा राखिएको सीसीटिभी फुटेजमा कैद भएको दृष्यलाई आधार मानेर घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको

हो ।‘सेवाग्राही बनेर झोला भिरेर मोटरसाइकलमा महानगरपालिका कार्यालयमा छिरेका एक व्यक्ति पछि बाहिर निस्कँदा झोला नलिइकन निस्किएको कुरा बाहिर बजारको सुरक्षाका लागि राखिएको सीसीटिभी फुटेजमा देखिन्छ,’ एक प्रहरीले भने, ‘त्यही फुटेजलाई आधार मानेर अनुसन्धान गर्दै जाँदा घटनामा संलग्नलाई पक्राउ गर्न सकियो ।’ सेवाग्राही बनेर गएका व्यक्तिले झोलामा लगेर प्रेसर कुकर बम राखेपछि बाहिर निस्किएर गएको ती प्रहरीले बताए।

घटनापछि सबै सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था र सार्वजनिक स्थलको सुरक्षा अवस्था मजबुत बनाइएको प्रदेश १ प्रहरी प्रमुख डीआईजी केदार रिजालले बताए । उनका अनुसार सरकारी कार्यालयमा सेवाग्राही बनेर जानेहरुमाथि खानतलासी गर्ने र शंकास्पदहरुमाथि निगरानी बढाउने काम प्रहरीले गरिरहेको छ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.