खानेपानी डिभिजन कार्यालय इलामका प्रमुख मोतीउर रहमानले नक्कली बिल भर्पाई बनाई लाखौं रकम भ्रष्टाचार गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।
अख्तियारले खानेपानी डिभिजन कार्यालयका सम्पूर्ण कागजात माग गरेको छ । कागजात उपलब्ध गराउन कडा निर्देशन जारी भएपछि खानेपानी विभागका महानिर्देशक तेजराज भट्टले त्यसमा आलटाल गरेका छन् । उनले कागजातका लागि खानेपानी डिभिजन क्षेत्रीय निर्देशनालय धनकुटाका निर्देशक शंकर जैसवाललाई खटाएका थिए ।
रहमानले गरेको भ्रष्टाचारको कमिसन महानिर्देशक भट्टसम्म पुगेको भन्दै अख्तियारमा उजुरी परेको थियो । छानबिनका लागि कागजात माग गरेको पत्र पठाइएको बताए पनि निर्देशक जैसवालले कसलाई खटाएको र पत्र कहिले पठाएको भन्ने खुलाएनन् । उनले राजधानीसँग भने, ‘यो सूचना दिन मिल्दैन । म काठमाडौंमा छु । कहिले पठाएँ, कसलाई पठाएँ भन्ने मलाई स्मरण छैन ।’
रहमानले इलामको पञ्चकन्या लक्ष्मीपुर खानेपानी आयोजनामा नक्कली बिल र नक्कली उपभोक्ता समिति बनाएर ३६ लाखको भुक्तानी आर्थिक वर्ष २०७४÷७५ को १५ असारमा लिएका थिए । आयोजनामा कामै नगरी उक्त रकम लिएका रहमानले कन्टेनजेन्सीबापत काम नै नगरी सम्बन्धित आयोजनाका नाममा ६ लाख ४६ हजार भुक्तानी दिइएको छ । यसमा महानिर्देशक भट्टले तोक लगाएका छन् ।
एकमुष्ट फिटिङ खरिद गर्नुपर्ने थियो । तर, १० असारमा फिटिङ खरिद नगरी बिल भुक्तानी पास गराइएको थियो । सोही सन्दर्भमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग काठमाडौंमा भ्रष्टाचार गरेको भनी उजुरी परेपछि फाइल मगाइएको थियो । अख्तियारले अहिलेसम्म उक्त फाइल पाउन सकेको छैन । स्रोतले भन्यो, ‘फाइल ल्याउन ढिलासुस्ती गरी अख्तियारलाई पनि प्रभावमा पार्ने र मिडियालाई मागेको सूचना नदिने रणनीति महानिर्देशक भट्टले नै गरेका हुन् ।’
माघ महिनाभित्र सबै कार्यको सम्झौता गराई काम सुचारु गराउन खानेपानी मन्त्रालयले निर्देशन जारी गरेको थियो । निर्देशनको अवज्ञा गरी पञ्चकन्या लक्ष्मीपुर खानेपानी उपभोक्ता समितिको नाममा फर्जी समिति गठन गरी २० असार २०७५ मा खाता खोली नक्कली बिलको आधारमा भुक्तानी गरिएको थियो ।खानेपानी उपभोक्ता समितिका पदाधिकारीले पनि उक्त कामको विरोध गरेका थिए ।
एकजना योञ्जन थरका इन्जिनियरलाई रहमानले महानिर्देशक भट्टलाई भनी सरुवा गराई दिन्छु भन्दै प्रभावमा राखी भुक्तानी गरेको बताइएको छ । स्थानीय उपभोक्ताहरू नापी किताबअनुसार काम भए–नभएको जाँच गराई पाऊँ भनी अख्तियारमा पुगेका थिए ।
महानिर्देशक भट्टले भने रहमानलाई बचाउन शक्ति केन्द्रको ताकत प्रयोग गरेका छन् । रहमानले गरेको नक्कली कामहरूको सूक्ष्म रूपले अनुसन्धान गर्दा भट्ट संलग्न रहेको खुल्ने भएपछि उनको बचाउका लागि सक्रिय छन् । मक्का मदिनामा हुने हजका लागि साउदी अरब पुगेका रहमानलाई ढिलो गरी आउन सूचना दिइएको पनि बताइन्छ ।
इलाममा भएको भ्रष्टचारसम्बन्धी अख्तियार अनुसन्धान आयोगले गएको ५ भदौमा पत्र लेखी निर्देशक जैसवाललाई अनुसन्धानमा खटाए पनि महानिर्देशक भट्टको दबाबमा अनुसन्धान फितलो बनाउन सक्रिय भएकोे झापा खानेपानी कार्यालयका एक कर्मचारीले बताए ।