निर्मला हत्या प्रकरणः एसपी डिल्लीराज विष्टको डीएनए मिलेन, प्रतिवेदन सार्वजनिक माग गर्दै स्थानीय फेरि आन्दोलनमा

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्टसहित तीनजनाको डीएनए रिपोर्ट तयार भएको छ । कञ्चनपुर प्रहरीका अनुसार सकेसम्म डीएनए रिपोर्ट आज सार्वजनिक गर्ने तयारी छ ।

तर प्रहरी उच्च स्रोतका अनुसार एसपी विष्टको डीएनए परीक्षण ‘म्याच’ भएको छैन । प्रहरी प्रधान कार्यालयले निर्मला हत्याकाण्डमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टको र कञ्चनपुर प्रहरीले एसपी विष्टका छोरा किरण र स्थानीय आयुस विष्टको डीएनए परीक्षण गरेको थियो ।

आज उनीहरु तीनै जनाको डीएनए रिपोर्ट कञ्चनपुर प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको डीएसपी कृष्णराज ओझाले जानकारी दिए । प्रहरी स्रोतका अनुसार एसपी विष्टको छोराको डीएनले मिलेको छैन ।

‘‘उहाँ आफैँ विवादमा आएपछि डीएनए परीक्षणका लागि तयार हुनुभएको हो । उहाँलाई प्रमाण नष्ट गर्न भूमिका खेलेको आरोप लागेको छ । त्यसमाथि डीएनए परीक्षणका लागि तयार हुनुभयो । उहाँको रगत निर्मलाको शरीरमा भेटिएको भेजिनल स्वाबसँग म्याच खाएको छैन,” प्रहरी उच्च स्रोतले भन्यो ।

शुक्रबार डीएनए परीक्षणको रिपोर्ट कञ्चनपुर पठाइएको थियो । प्रहरी उच्च स्रोतले भन्यो,‘‘एसपी विष्टको डीएनए परीक्षण रिपोर्ट मिलेन । उनका छोरा र स्थानीय आयुस विष्टका विषयमा नबोलौं ।’’

गत साउन १० गते साथी रोशनी बमको घरमा जान हिँडेकी भीमदत्तनगर २ उल्टाखामकी निर्मला ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । साउन १० गते नै प्रहरीलाई निर्मला हराएको खबर गरेको भएपनि प्रहरीले खोजी कार्यमा लापरवाही गरेको थियो ।

निर्मलाको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धान र स्वास्थ्य परीक्षणबाट पुष्टि भएपनि हत्याराको पहिचान अझै हुन सकेको छैन । यसअघि प्रहरी ४ भदौमा दिलिप विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । तर उनको डीएनए परीक्षण पनि ‘म्याच’ नभएपछि उनी छुटेका थिए । प्रहरीले दिलिपलाई नक्कली अभियुक्त बनाएको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले पनि औंल्याएको छ । प्रतिवेदनमा हत्यापछि प्रमाण लुकाउन एसपी विष्टको संग्लनताको आशंकासँगै त्यसमा सीआईबीका डीएसपी अंगुर जिसी लगायतले सघाएको उल्लेख छ । कञ्चनपुरमा शनिबारदेखि हरिप्रसाद मैनाली नेतृत्वको समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आन्दोलन सुरु भएको छ ।

निर्मला पन्तको हत्यापछि घटनाको मुचुल्का तयार पार्ने दिनमा भारतमा रहेका आफ्ना बुवाको औंठाछाप मुचुल्कामा रहेको पाइएपछि प्रहरीको गम्भीर त्रुटि रहेको भन्दै स्थानीय थप आक्रोशित बनेका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री रामबहादुर थापाले पनि हत्याको समयमा निर्मलाले लगाएका कपडासमेत अहिलेसम्म फेला पार्न नसकिएको बताएका थिए ।

एकअर्कालाई चिन्दैनन् आयुस र एसपीका छोरा
निर्मला हत्याकाण्डमा तत्कालीन एसपी विष्टका छोरा किरण र स्थानीय आयुस विष्टको नाम पनि उक्त घटनामा जोडिएको थियो ।  साउन १० गते एसपी विष्टका छोराको जन्मदिन थियो । किरणले महेन्द्रनगरमै रहेको होटल ओपेरामा जन्मदिन मनाएका थिए । होटल ओपेरामा जन्मदिन मनाएको सीसीटिभी फुटेज नभेटिएको भएपनि त्यो दिन एसपीका छोरा किरणसहित २ जना युवा र ३ जना युवती रहेको स्रोतले जानकारी दिएको छ । प्रहरी स्रोतले भन्यो, ‘‘किरणले फोटोसुट गरेको देखियो । फोटोमा निर्मला होइन अरु ३ जना युवतीहरु थिए ।’’
किरणले जन्मदिनमा लिइएका तस्बिर प्रहरीलाई उपलब्ध गराएका थिए । प्रहरी अनुसन्धानका क्रममा किरण र मेयरका भतिजा आयुसबीच चिनाजानसमेत नभएको खुलेको छ ।

‘‘उनीहरुको बीचमा कुनै पनि कोणबाट चिनाजान देखिँदैन । जन्मदिनमा पनि किरणसँग भएका अर्का युवक आयुस होइनन् । उनको बारेमा पनि सबै जानकारी लिइसकेका छौं,’’ प्रहरी स्रोतले भन्यो ।  निर्मला हत्याकाण्डको अनुसन्धान सीआईबीका एसएसपी ठाकुर ज्ञवाली र कञ्चनपुर प्रहरीले गरिरहेको छ भने घटनामा शंकास्पद भूमिका देखिएको भन्दै एसपी विष्टसहित ६ प्रहरी निलम्बनमा छन् ।

प्रहरी प्रधान कार्यालयले घटनामा प्रहरी अधिकारीको भूमिकाको अनुसन्धान र कारवाही सिफारिस गर्न एआइजी धिरु बस्न्यातको नेतृत्वमा छुट्टै समिति गठन गरेको छ । बस्न्यातको टोली अनुसन्धानमा संग्लन सबै प्रहरी अधिकारीलाई काठमाडौं झिकाएर अनुसन्धान गरिरहेको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
आइत, अशोज १४, २०७५ (September 30, 2018, 8:34 am) मा द्वारा अपराध अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै