Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

यि ६ जना हुन एसईई परीक्षाको प्रश्नपत्र आउट गर्ने

User Photo बिहिबार, चैत्र २१, २०७५

सप्तरी । प्रदेश २ मा १४ र १५ चैतको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र दुई नं. प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा संयुक्त पत्रकार सम्मेलन गरेर आरोपित दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्ने प्रहरी अधिकारीमा सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । उनीहरु सिरहाको इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत् जवान थिए ।

इप्रका, कल्याणपुरमा जनता मावि बनिया र रादु मावि कल्याणपुरको प्रश्नपत्र राखिएको थियो । जसको सुरक्षार्थ खटिएका जवान नै प्रश्नपत्र लिक गराउने कार्यमा संलग्न रहेको भेटिएका हुन् ।

यसअघि सामाजिक सञ्जालमा बाहिरिएको प्रश्नपत्रको छेवैमा ब्लेड देखिएपछि प्रश्न–पत्र हुने पोकाको तलबाट काटेर प्रश्नपत्र निकालिएको आशंका गरिएको थियो । प्रश्नपत्र निकालेर फोटो खिचेपछि उनीहरुले सप्तरी पठाएका थिए । त्यहीँबाट प्रश्नपत्रको किनबेच सुरु भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

पक्राउ पर्ने अन्यमा विष्णुदेव यादव, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादव छन् ।

यसरी बाहिरियो प्रश्नपत्र

प्रहरीका अनुसार १५ गतेको विज्ञान र १४ गतेको सामाजिक विषयको प्रश्नपत्र ब्रम्हदेव सुनरैतमार्फत चुहिएको थियो । उनले प्रश्नपत्र राखिएको स्थानबाट निकालेर फोटो खिची दाइ विष्णुदेव यादवलाई पठाएका थिए । यादवले पहिले मनोजलाई सामाजिक सञ्जालमार्फत प्रश्नपत्रको फोटो पठाएका थिए । र, मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको थियो । प्रश्नपत्र लेनदेनका क्रममा हजार रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म लेनदेन भएको देखिएको प्रहरीको भनाइ छ ।

त्यसक्रममा एक जनाले सामाजिक सञ्जालमा प्रश्नपत्र अपलोड गरेपछि यो प्रकरण सार्वजनिक भएको थियो । उनीहरुबाट बरामद मोबाइलको प्राविधिक विश्लेषण भइरहेको प्रहरीको भनाइ छ ।

लगातार दुई वटा विषयको प्रश्नपत्र परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक भएपछि शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले पनि चासो देखाएका थिए । उनले १५ चैतमा साँझ पत्रकार सम्मेलन गरेर परीक्षा स्थगित भएको घोषणा गरेका थिए ।

त्यसवेलै उनले घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई आग्रह गरेका थिए । त्यसपछि ब्युरोले डीएसपी निरञ्जन भट्टको नेतृत्वका अनुसन्धान टोली खटाएको थियो भने परीक्षा नियन्त्रण कार्यालयले पनि परीक्षा बोर्डकी सदस्य प्राध्यापक अमुदा श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।

समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । स्थागित परीक्षा शुक्रबारदेखि सुरु हुँदैछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.