Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 27, 2026
मङ्लबार, बैशाख १५, २०८३

प्रहरी नै ग्राहक बनेर गएपछि खुल्यो रहस्य…

प्रहरी अधिकारी झस्किए

User Photo सोमवार, बैशाख ३०, २०७६
काठमाण्डाै ।

भारतीय एक समूहले काठमाडौँको फाइभ स्टार होटल याक एण्ड यतिमा वैशाख २५ देखि नै एउटा नेटवर्किङ व्यवसायका विषयमा सेमिनार राखेको सूचना महानगरीय प्रहरी परिसरमा आयो ।

सर्वोच्च अदालतले नै प्रतिबन्ध लगाएको नेटवर्किङ व्यवसाय सुनेपछि महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी अधिकारी झस्किए । कतै यो नेपाली ठग्न आएको त हैन ? भन्ने लागेर तत्कालै प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वमा विशेष टोली बनाइ अनुसन्धानमा खटियो । खास कुरा पत्ता लगाउन प्रहरी टोली सादा पोशाकमा ग्राहक बनेर उक्त सेमिनारमा सहभागि भयो ।

सेमिनारको तेस्रो दिन वैशाख २७ गते कार्यक्रम समापनमा पैसाको चलखेल हुन्छ भन्ने निष्कर्षका साथ केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)को समेत सहयोग लिएर परिसरले त्यहीअनुसारको तयारी गरेको थियो ।

तर पैसा फेला नपारे पनि परिसरको टोलीले अवैधधन्दा चलेको पत्ता पायो । सोही रात १० बजे उक्त व्यवसायमा संलग्न रहेका १२ भारतीय नियन्त्रणमा लिन सफल भयो । त्यतिबेला प्रहरीले राष्ट्र बैंक र राजस्व अनुसन्धानका अधिकारीलाई समेत सहभागी गरायो ।

‘फाइभस्टार जस्तो होटलमा नेटवर्किङ व्यवसायका विषयमा केही भारतीयले प्रस्तुति दिँदै छन्, नेपाली पनि सहभागी छन् भन्ने जानकारी आएपछि हामी ग्राहक बनेर गएको थियौँ, हामीलाई पनि उनीहरुले प्रलोभन देखाएर लगानी गर्न आग्रह गरे’, घटनाबारे बोगटीले भने ।

‘मैले ७५ लाख कमिसन पाइसकेँ ग्राण्डी हस्पिटल पछाडि घर बन्दै छ, तपाई पनि लगानी गर्नुहोस्, एक वर्षमा यसको दोब्बर हुन्छ, मैले पनि एकएक करोड लगानी गर्ने १० जना व्यवसायी बनाइसकेकी छु’, एक नेपाली महिला आएर बोगटीलाई प्रलोभनमा पार्न खोजिन् ।

सबै कुरा जानकारी लिएपछि कैफियत छ भन्ने निष्कर्षका साथ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । नेटवर्किङमार्फत करोडौँ रुपैयाँ अवैधरुपमा विदेश गइरहेको र नेपाली प्रत्यक्षरुपमा ठगीइरहेको प्रहरीको ठम्याइ छ ।

अवैध व्यवसायका मुख्य व्यक्ति भारतका ४३ वर्षीय रसिद नसिम हुन् । ‘मेरो शाइन ग्रुप भनेको विश्व प्रसिद्ध कम्पनी हो, यसको मुख्य कार्यालय दुवर्इमा छ, यसले हाउजिङ, सुन र विदेशी विनिमयमा लगानी गर्छ, त्यसमा एक हजार २५० डलर लगानी गरे त्यती नै रकम बैंक खातामा आउँछ’, यस्तैयस्तै भनेर उसले नेपालीलाई लोभ्याएको थियो ।

महिनामा अरु सदस्य थपेमा थप कमिसनसमेत आउँने, ग्राहक थप्दै रु एक करोड बनाएमा त्यो कम्पनीको अध्यक्ष बन्न पनि सकिने भनेर नेपालीलाई फकाइरहेका उसले शाइन ग्रुपको शाखा सिंगापुर, लखनउ, मौरिससलगायत विभिन्न ठाउँमा रहेकोसमेत बताएको खुल्न आएको छ ।

उसको प्रलोभनमा धेरै नेपाली फसिसकेको पाइएको प्रहरीको भनाइ छ । अच्चम्मको कुरो त भारतमा बसिरहेका एक नेपालीले आफ्ना परिवारलाई फोन गरेर जिमेल आइडी खोली लगानी गर्नसमेत भनेका थिए । उनले श्रीमतीलाई नै फोन गरेर बसपार्कमा बनेको घर बेचेर भए पनि लगानी गर्नुपर्छ भनेर बताएका थिए ।

यस्ता घटना धेरै खुल्दै आएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकासँग केही ल्यापटप र १७ थान क्यामरा बरामद गरेको प्रहरीले पैसा भने बरामद गर्न सकेन । रसिद याक एण्ड यतीमा नबसी दैनिक भण्डै रु दुई लाख तिरेर हायत रिजेन्सी होटलमा कोठा लिएर बसेकोसमेत खुलेको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले उनीहरुका विषयमा विभिन्न क्षेत्रबाट उजुरी आइरहेकाले ठगी र सङ्गठित अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

उनीहरु पक्राउ परेपछि जाहेरी दिनेक्रम शुरु भएको छ । तीन जनाले महानगरीय प्रहरी परिसरमा रु एक करोड २३ लाख ठगी भएको भन्दै उजुरी दर्ता गराएका छन् । अन्य पनि सम्पर्कमा आउनेक्रम जारी रहेको भन्दै परिसरका प्रवक्ता होविन्द्र बोगटीले यस्ता अबैध व्यवसायमा नफस्न सर्वसाधारणलाई अपिल गरेका छन् ।

दुई जनाको मौखिक उजुरी आएकाले सोमबार जाहेरी दिने तयारी भएको परिसरले जनाएको छ । यसअघि पनि गोल्ड क्वेष्टजस्ता विभिन्न नेटवर्किङ कम्पनीले यसैगरी ठगेको थियो ।

पक्राउ पर्नेमा भारतको इलाहाबादका ३१ वर्षीय मोहमद साइजिल, सोही ठाउँका ३३ वर्षीय अजितकुमार सिंह, भारत छतिसगढका ४५ वर्षीय नीरजकुमार मिश्र, उत्तरप्रदेशका ४३ वर्षीय अशोक कुमार र ३८ वर्षीय सुनिल उपाध्यय, सोनभद्रका ४० वर्षीय रमेश राम, गुजरातका २२ वर्षीय आयुश उपाध्यय, लखनउका ३२ वर्षीय, कसिफ सकिल, नयाँ दिल्लीका ४३ वर्षीय रसिद नसिम (मुख्य व्यक्ति), बेङ्लोरका ३५ वर्षीय महेन्द्र सिंह र भारतको सारामाइलका ३२ वर्षीय गजेन्द्रकुमार सिंह रहेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.