Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 27, 2026
मङ्लबार, बैशाख १५, २०८३

रिना बस्नेत मृत्यु प्रकरण : पोस्टमार्टम रिपोर्टमा देखिएन हत्या

नेपाल अहिले पनि प्रहरी हिरासत मै

User Photo मङ्लबार, बैशाख ३१, २०७६
काठमाण्डाै ।

विराटनगर। २९ वर्षीया रिना बस्नेत मृत्यु प्रकरणको अन्तिम पोस्टमार्टम रिपोर्ट सोमबार प्राप्त भएको छ। फरेन्सिक (विधि विज्ञान) ल्याब रिपोर्टसँगै प्राप्त भएको पोस्टमार्टमको अन्तिम प्रतिवेदनले उनको हत्या नभएको पुष्टि गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए। शवको पोस्टमार्टम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो।

मृत्युको घटनालाई जोडेर तीन जनासँग गरिएको पोलिग्राफ जाँचको अन्तिम रिपोर्ट पनि सोमबार प्राप्त भएको छ। प्रहरीले रिनासँग लामो समयदेखि सम्पर्कमा रहेका प्रतिष्ठित व्यापारीसहित ५० जनासँग सोधपुछ र अनुसन्धान गरेको थियो। रिनाका प्रेमी भनिएका मोरङको सुन्दरहरैंचा नगरपालिका–३ का कमल नेपाल, कमलकी पत्नी मनिता र रिना डेरा बस्ने फ्ल्याटमै बस्दै आएका मदन गुरागाईको पोलिग्राफ जाँच गरिएको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा तीनै जनाले दिएको बयानमा शंका लागेपछि प्रहरीले पोलिग्राफ टेस्ट गरेको थियो। पोलिग्राफ जाँचबाट मुटुको चाल, रक्तसञ्चार र मस्तिष्कको चालले बयानका क्रममा बोलेको कुरा साँचो हो या होइन भनेर छुट्याउन सहज हुने प्रहरीको भनाइ छ। डीएसपी श्रेष्ठका अनुसार घटनाका विषयमा फरेन्सीकसँगै प्राप्त भएको पोस्टमार्टम र पोलिग्राफ परीक्षणको अन्तिम रिपोर्टले रिनाको हत्या नभएको देखाएको छ। उनका प्रेमी भनिएका नेपाललाई भने प्रहरीले पक्राउ गरेर अभद्र व्यवहारको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ। नेपाल अहिले पनि प्रहरी हिरासत मै छन्।

रिपोर्टमा कुनै यौनजन्य क्रियाकलाप नभएको, मादक पदार्थ सेवन गरेको, करङ भाँचिएको, हतियार प्रहार नगरिएको, विष वा बेहोस बनाउने औषधि जन्य पदार्थको प्रयोग भएको नभेटिएको र टाउको तथा छातीको भित्री भागमा लागेको गम्भीर चोटका कारण रिनाको मृत्यु भएको उल्लेख गरिएको श्रेष्ठको भनाइ छ।

पथरीशनिश्चरे नगरपालिका–१ मा डेरा बसेको घरमुनि गत वैशाख ७ गते शनिबार विहान रिनाको शव निर्वास्त्र अवस्थामा फेला परेको थियो। श्रीमान सन्तोश बस्नेत वैदेशिक रोजगारीमा थिए। उनी १४ वर्षीय छोरासँगै वीरबहादुर बस्नेतको घरको तीन तलामाथि कोठा भाडामा लिएर बस्दै आएकी थिइन्।

रिनाको बलात्कारपछि हत्या गरिएको र प्रहरीले घटनामा संलग्नलाई जोगाउन खोजेको भन्दै पथरी उद्योगी वाणिज्य संघकी पूर्व उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा संघर्ष समिति गठन गरेर गरिएको आन्दोलनका कारण पथरी बजार वैशाख ९ र १० गते तनावग्रस्त बनेको थियो। त्यसबेला झडपमा परेर ५ स्थानीय र ३ प्रहरी पनि घाइते भए। हत्या भन्दै आन्दोलन सुरु भएपछि परिवारका सदस्य र आफन्तले पनि शवको अत्येष्टी गरेनन्। प्रहरीसँगको रिसिइवी र व्यक्तिगत स्वार्थसँग जोडेर गरिएको आन्दोलनले थप हिंसा भड्काउने काम गरेको भन्दै रिनाका परिवारका सदस्य र आफन्त भने आन्दोलनप्रति रुष्ट बनेका थिए। आन्दोलनकै कारण मृत्यु भएको ९ दिनपछि वैशाख १५ गते मात्रै रिनाको अन्त्येष्टी गरिएको थियो।

त्यतिबेलै प्राप्त पोस्टमार्टमको प्रारम्भिक रिपोर्ट र प्रहरीको अनुसन्धानले पनि डेरा बसेको घरको तीन तला माथिबाट खसेर रिनाको मृत्यु भएको देखाएको थियो। ‘अहिलेसम्मको अनुसन्धान र सबै खाले रिपोर्टले हत्या भएको र त्यसमा कोही कसैको संलग्नता रहेको देखाउँदैन,’ मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले भने, ‘तीन तला माथिबाट झरेकाले लागेको गम्भीर चोटका कारण मृत्यु भएको कुरा पोस्टमार्टम र पोलिग्राफको अन्तिम रिपोर्टले पनि पुष्टि गरेको छ।’ उनले विभिन्न कोणबाट अनुसन्धान गर्दा र वरपर रहेका सिसी टिभीको फुटेजबाट पनि घटना भएको रात रिना बसेको ठाउँमा कोही पुगेको नदेखिएको बताए।

फेसबुक लगायतका सामाजिक सञ्जाल र रिनाले प्रयोग गर्ने मोबाइलका बारेमा पनि अनुसन्धान गर्दा घटनामा कोही कसैको संलग्नता नदेखिएको एसपी केसीको भनाइ छ। ‘अझै पनि रिनासँगको कनेक्सन खोतलेर प्राविधिक हिसावको अनुसन्धानलाई जारी राखिएको छ,’ उनले भने, ‘विभिन्न रिपोर्टले हत्या भएको नदेखाएपछि घर माथिबाट आफैँ खसेको हो वा आत्महत्या गरेको हो भन्ने बारेमा अनुसन्धान केन्द्रित छ।’ केसीका अनुसार अहिलेसम्मको अनुसन्धानले कोही कसैले घरमाथिबाट खसाएको पनि देखिंदैन। घटनासँग जोडेर गर्नु पर्ने अनुसन्धानमा प्रहरीले कुनै कसर बाँकी नराखेको उनको भनाइ छ।

महिलाको मृत्यु जस्तो संवेदनशील विषयलाई हत्या भनेर अनर्गल प्रचार गर्ने यूट्युबर र दर्ता बिनाका अनलाइन सञ्चालकमाथि अनुसन्धान जारी राखेको प्रहरीले बताएको छ । केसीले भने, ‘सबैतिरको प्रमाण जुटाइसकेपछि त्यस्ता युटुबर र दर्ता बिनाका अनलाइनमाथि कारवाही अघि बढाइने छ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.