कैलालीको मध्यवर्ती क्षेत्र मसुरियामा लकडाउन तोड्दै स्थानीय सडक आन्दोलनमा उत्रिएका छन् । स्थानीय शिक्षक कृष्णप्रसाद भुसालका हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनले आनाकानी गरिरहेको भन्दै उनीहरु सोमबार दिउँसोदेखि सडक आन्दोलनमा उत्रिएका हुन् ।
भुसाल मसुरियास्थित विहानी क्षितिज बोर्डिङ स्कुलका संस्थापक तथा एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत थिए । वैशाख ११ गते राति पहलमानपुरस्थित पूर्वपश्चिम राजमार्ग किनारमा साइलकसहित मृत अवस्थामा भेटिएका भुसालको चप्पल तथा मास्क मसुरियाको शंकरपुरस्थित शिवशंकर सामुदायिक वनमा भेटिएको थियो ।
पहलमानपुर साथीलाई भेटेर साइलकमा फर्केका उनको सुनियोजित तरिकाले हत्या भएको भन्दै स्थानीय ध्वजबहादुर खातीले भने,‘घटना घटेको १२ दिन भइसक्यो, अहिलेसम्म प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन, त्यही भएर आज हामी लक डाउन तोड्दै सडकमा उत्रिन बाध्य भएका हौँ । नागरिक दैनिक
