Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

१५ किलो ‘सुन’ प्रकरण- प्रहरीले नै नक्कली घटनास्थल बनाएको खुलासा

डीएसपी रञ्जन दाहालकाे करतुत, माथिल्लो निकाय नै गुमराहमा

User Photo बिहिबार, साउन १५, २०७७
काठमाण्डाै ।

प्रहरीले १५ किलो ‘सुन’ भनेर बरामद गरेको पहेँलो धातु सम्बन्धी अनुसन्धान विवादमा तानिएको छ । यसमा काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त, दरबारमार्गको गम्भिर लापरबाही गरेकाे खुलासा भएकाे हाे ।

प्रकरणको छानविनका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज यादवको नेतृत्वमा गठन गरेको समितिले पनि अनुसन्धान अधिकृतको कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

समिति स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रञ्जन दाहालले घटनास्थलसमेत परिवर्तन गरेर माथिल्लो निकायलाई गुमराहमा राखेको पाइएको छ । यसमा उनी एक्लै संलग्न हुन् वा अन्य पनि छन् भन्ने विषय खुलिसकेको छैन ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले मंगलबार पत्रकार सम्मेलन गरेर कमलादीस्थित नबिल बैंक अगाडि सेतो रंगको कपडाको झोला फ्याँकेर एक गाडी फरार भएको उल्लेख गरेका थिए ।

तर, छानविन समितिले हेरेको त्यसक्षेत्रको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजमा त्यहाँ प्रहरीले बताएअनुसारको घटनाक्रम देखिएको छैन । न त त्यसक्षेत्रका सर्वसाधारणलाई घटनाबारे जानकारी छ । बरु केहीसँग लिइएको बयानबाट घटनास्थल सुन्धारा हुनसक्ने देखिएको छ ।

सुन्धारा दरबारमार्ग प्रहरीको क्षेत्राधिकारभित्र पर्दैन । डीएसपी दाहालले सुन्धारा पुगेर अपरेशन गर्दा काठमाडौं प्रहरी प्रमुख एसएसपी ज्ञवालीलाई त्यसबारे जानकारी दिएको नपाइएको स्रोतले बतायो ।

नाकामा समयमा जानकारी नै गराइएन

एसएसपी ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमै बा ६ च ५५१९ नम्बरको स्कर्पियो गाडी फरार भएको सार्वजनिक गरेका थिए ।

गाडीबाट फ्याँकिएको झोलामा १५ किलो सुन जस्तो देखिने धातु बरामद भएको ज्ञवालीको भनाइ थियो । बरामद धातु परीक्षणपछि साढे १४ किलो चाँदी र आधा किलो मात्र सुन भएको पुष्टि भएको थियो ।

समितिका एक अधिकृतले अभियुक्त र सवारीसाधन नसमातिँदै पत्रकार सम्मेलन गरेर गाडी नम्बर सार्वजनिक गर्दा आरोपितले भाग्ने मौका पाएको बताए । उनले अनलाइनखबरसँग भने, ‘अनुसन्धानका लागि यसले समस्या सिर्जना गर्न सक्ने कुराको ख्याल गरेको देखिँदैन ।’

त्यति मात्र होइन, घटनालगत्तै दिइएको सवारीसाधनको नम्बर पनि गलत रहेको पाइएको छ । थापाथलीस्थित ट्राफिक प्रहरीलाई उपलब्ध गराइएको नम्बर बा ६ च ५५११ थियो । जबकी, त्यो नम्बरको गाडी कैलालीमा रहेको व्यक्तिको भएको पाइएको यातायात व्यवस्था कार्यालयको रेकर्डले देखाएको थियो ।

पछि ५५१९ नम्बरको गाडी बाराका इन्साद हुसेनको भएको पाइएको थियो र त्यसबाट थप अनुसन्धान सुरु भएको थियो । गाडीबारे नाकामा कार्यरत प्रहरी अधिकृतलाई पनि ढिलो गरी मात्र रिपोर्टिङ भएको पाइएको छ ।

‘भाग्ने वित्तिकै खबर गरेको भए पनि चेकपोइन्ट राखेर समातिहालिन्थ्यो, उम्किन सक्ने ठाउँ रहँदैनथ्यो’, उपत्यकाको एक वृत्तमा कार्यरत अधिकृतले भने, ‘यसमा प्रहरीले गम्भिर लापरबाही भएको देखिन्छ ।’

काठमाडौं प्रहरीका एक उच्च अधिकृतले भने पूर्ण तयारीविना डीएसपी दाहालले अपरेशन गरेकाले समस्या आइपरेको दाबी गरेका छन् । दाहालले भने घटनाबारे बताउन चाहेनन् ।

भाग्ने वित्तिकै गोली चलाएर पनि गाडीलाई नियन्त्रणमा लिन सकिने स्थिति रहँदा रहँदै प्रहरीले त्यतातिर किन ध्यान दिएन भन्ने विषय रहस्यमय रहेको अधिकृतहरु बताउँछन् ।

यसपछाडि काठमाडौं प्रहरी र महानगरीय प्रहरी वृत्त, दरबारमार्गको नियत थियो वा लापरबाही मात्र भन्ने विषयमा चाहिँ छानविन समितिको अन्तिम प्रतिवेदन तयार भए नै निष्कर्षमा पुग्न सकिएला ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.